भदौरे पञ्चासे महोत्सव पौष ३ गतेदेखि

भदौरे पञ्चासे महोत्सव पौष ३ गतेदेखि

पोखरा, १० मंसिर/ अन्नपूर्ण गाँउपालिकामा अवस्थित सुन्दर पर्यटकिय गाँउ भदौरेमा आयोजना हुने २२ औं भदौरे पञ्चासे महोत्सव पौष ३ गतेदेखि ६ गते सम्म हुने भएको छ । महोत्सवमा तमु ल्होसार तथा दोश्रो कोदो महोत्सवसमेत हुनेछ ।

भदौरे क्लब र भदौरे आमा समूहको आयोजनामा हुने महोत्सवमा सहयोगिको भुमिकामा अन्नपूर्ण गाउँपालिकाले निर्वाह गरेको छ । महोत्सवको आकर्षणमा पुरुष भलिवल, कोदोको परिकार तथा साँस्कृतिक कार्यक्रम रहने महोत्सव संयोजक सन्तोष गुरुङले बताए ।

आन्तरिक तयारी भईरहेको बताउँदै संयोजक गुरुङले पुरुष भलिवलमा ३० टिमको सहभागिता रहने जानकारी दिए । पुरुष भलिवलमा प्रथम हुने टिमलाई ७० हजार, दोश्रो हुने टिमलाई ४० हजार र सेमिफाईनलमा पुग्ने टिमलाई ५÷५ हजार पुरस्कार राखिएको आयोजकले बताएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न कोदोको परिकार राखिने भदौरे क्लवका अध्यक्ष जिवन गुरुङले बताए । उनी भन्छन्– ‘महोत्सव अवलोकन गर्न आउनेलाई मनोरञ्जन गराउनका लागि साँस्कृतिक कार्यक्रमका साथमा विशेष नृत्य प्रस्तुत गर्नेछौं । सुन्दर गाँउ अवलोकन गरि यसै ठाउँमा बस्न चाहनेका लागि होमस्टेको व्यवस्था रहेको छ ।’ स्थानीय स्तरमा उत्पादित परम्परागत प्राङ्गारिक खानाका परिकारहरुको स्वाद महोत्सवमा लिन पाइने क्लवका अध्यक्ष गुरुङ वताउँछन् ।

पर्यटक आवासको लागि गाँउमा होटेल तथा होमस्टेहरु सञ्चालित रहेका छन् । साविक भदौरे तामागी गा.वि.स वडा नं १ मा रहेको उक्त गाँउ पोखरा देखि ३० किलोमिटर पश्चिममा रहेको छ । पञ्चासेको काखमा रहेको सो गाँउ आन्तरीक र वाह्य पर्यटकको एक आकर्षक स्थल पनि हो । शितल हावा पानी रहेको सो मनमोहक गाँउ प्रकृतिक सुन्दरताले भरिभराउ छ ।

सैयौं प्रजातिका सुनाखरि पाइने प्रसिद्ध पञ्चासे संरक्षित वनको ठुलो क्षेत्र यसै गाँउमा पर्दछ । पञ्चासे पुग्ने प्रवेशद्वारको रुपमा पनि सो गाँउलाइ चिनिन्छ । मेला स्थलबाट अन्नपूर्ण हिम श्रृंखला अन्तरगत निलगिरी, धौलागिरि, माछापुछ«े लगाएतका हिमालहरु नजिकै प्रस्टरुपमा देख्न सकिन्छ ।

९० दिन पुराना लेखमा कमेन्टहरु बन्द गरिएको छ ।