प्रहरीको गोलीबाट सर्बसाधारणको ज्यान गएपछि आज स्याङजा बन्द

गोकुल बानियाँ / पोखरा १३ कार्तिक । प्रहरीले चलाएको गोली लागि स्याङ्जाको चापाकोटमा हिजो २ सर्बसाधारणको ज्यान गएपछि नेपाली कांग्रेसले आज स्याङजा बन्दको घोषणा गरेको छ ।
घटनाका सम्बन्धमा स्वतन्त्र न्यायिक छानवीन समिति गठन, हत्या गरिएका ब्यक्तिलाई राहत सहित सहिद घोषणा, प्रहरी प्रमुखको बर्खास्ती, आश्रित परिवारको सुरक्षा एवं रोजगारको ग्योरन्टी र घाइतेको उपचार खर्च सरकारले बेहोर्नुपर्ने माग सहित बन्दको घोषणा गरिएको नेपाली कांग्रेस स्याङजाका सचिव कुमार रानाले बताए । गृहमन्त्रालयद्धारा गठित समिति मान्य नहुने भन्दै उसले वहालवाला न्यायधीशकोे संयोजनमा स्वतन्त्र न्यायिक छानवीन समिति गठन गर्न माग गरेको छ । बन्द बेलुका ६ बजेसम्म रहने बताईएको छ ।
चापाकोट गाविस–६ सुन्तलीटारस्थित प्रहरी चौकीमा हिजो अपरान्ह स्थानीयवासी र प्रहरीबीच झडप हुदा प्रहरीले चलाएको गोली लागि दुई जनाको मृत्यु हुनुको साथै प्रहरी सहित २७ जना घाईते भएका छन् । घाईते मध्य चार जनाको अबस्था गम्भिर छ ।
प्रहरीको गोलिबाट चापाकोट ३ का २८ बर्षिय कृष्ण भट्टराईवडानम्बर –६ का १८ वर्षका सूर्य आलेको मृत्यु भएको हो । गम्भीर घाईते ३० बर्र्षीय गंगाकुमारी श्रेष्ठ, २० बर्षिय मनोज बिक र ३० बर्षिय कमला श्रेष्ठको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भैरहेको छ । खुट्टामा गोली लागि घाईते भएकी ४१ बर्षिय गायत्री आचार्यलाई थप उपचारको लागि गएराति पोखराबाट काठमाण्डौ रिफर गरिएको अस्पतालले जनाएको छ ।
स्थानीयवासी र प्रहरीकाबीच भएको झडपमा परि इलाका प्रहरी कार्यालय रत्नपुरका प्रहरी निरीक्षक कृष्णबहादुर थापा सहित ४ प्रहरी र १९ म्यादी प्रहरी घाईते भएका छन् । प्रहरी निरिक्षक थापाको हात भाचिएको छ । प्रहरी सहायक निरिक्षक रण बहादुर बैदवार, जवान सुनिल कुमार सिंह, खिम लाल पन्थी सहित घाईते म्यादी प्रहरीको वालिङमा उपचार भैरहेको प्रमुख जल्ला अधिकारी कृष्ण बहादु राउतले बताए कमाण्डरले भिड नियन्त्रणको लागि हवाई फायरिङको आदेश दिएपनि भुलबस ब्यक्तिलाई लागेको प्रहरीको दाबि छ । स्थानियले भने गोलि चलाएपछि मात्र अश्रुग्यास प्रहार गरेको जिकिर गरेका छन् ।
स्थानीय ३५ वर्षकी माया विकको दुई साताअघि भएको मृत्युको विषयमा प्रहरीले अनुसन्धानमा ढिलाई गरेको भन्दै स्थानीयवासीले प्रहरी चौकीमा आक्रमण गरेपछि भीड हटाउन प्रहरीले गोली चलाएको थियो । बिकको शब झुण्डिएको अबस्थामा भेटेपछि प्रहरीले आत्माहत्याको रिपोर्ट बनाएको थियो । तर स्थानियले उनको हत्या भएको भन्दै छानबिनको माग गरेका थिए ।
मृतकको श्रीमान्लाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । घटना बारे अनुसन्धानको लागि गृहमन्त्रालयले कागार प्रशासन बिभागका प्रमुख शम्भु कोईरालाको संयोजकत्वमा ३ सदस्यिय छानबिन समिति गठन गरेको छ ।

कमेन्टहरु
Loading...