शरद कुमार गौचन हत्याका मुख्य योजनाकार बस्नेत पक्राउ

काठमाडौं, १८ मंसिर/असोजमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्याका मुख्य योजनाकार समीरमान सिंह बस्नेतलाई आइतबार सार्वजनिक गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बस्नेतलाई भारतबाट पक्राउ गरि ल्याएको हो। डाँफे कन्ट्रक्सनको सेयर नपाएपछि गौचनको हत्या गरेको बस्नेतले प्रहरीसामू बयान दिएका छन्।

केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख डीआईजी पुस्कर कार्कीका अनुसार गौचनले सञ्चालन गर्दै आएको डाँफे कन्ट्रक्सनमा सेयर दिने भनी गजुरमुखी कन्ट्रक्सनकका मुख्य लगानीकर्ता मृतक कुमार श्रेष्ठ ९घैंटे० मार्फत २ करोड ५० लाख लिएको भन्ने खुलेको थियो।

उक्त रकममध्ये समीरमान सिंह बस्नेतको १ करोड भएको दाबी गरिएको र कुमार श्रेष्ठको मृत्युपछि उक्त सम्पूर्ण रकम बराबरको डाँफे कन्ट्रक्सनमा सेयर वा रकम फिर्ता गर्न भनि समीरमान सिंह बस्नेतले पटक पटक माग गर्दा समेत फिर्ता नगरेपछि विवाद उत्कर्षमा पुगेका बयानमा भनेको प्रहरीले आइतबार पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

वीरगन्जदेखि विराटनगर जोड्ने हुलाकी मार्गको ठेक्काको कमिशन वापतको २ प्रतिशत रकमसमेत बस्नेतले माग गरेकोमा गौचनले बेवास्ता गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

भारतमा लुकिछिपी बस्दै आएका बस्नेतलाई पक्राउ गरी काठमाडौं ल्याइएको छ । यसअघि गौचनको हत्यामा संलग्न अन्य तीनजनालाई प्रहरीले पक्राउ गरिसकेको थियो। हत्यामा संलग्न सुटरसहित तीन जनालाई प्रहरीले यसअघि नै पक्राउ गरी सार्वजनिक गरेको थियो ।

अहिलेसम्म गौचन हत्यामा संलग्न मध्ये मुख्य योजनाकार बस्नेत, बसन्त थेवे, धनराज योङहाङ, राजीव स्याङताङ, प्रकाश बुढाथोकी, शिवजी महतो, मुकेश कुमार पाण्डे र सन्तोष गुरुङ पक्राउ परिसकेका छन् ।

त्यसबाहेक मनोज पुन, लोप्साङ लामा, गंगा प्रकाश लिङदेन, श्याम गोम्बे गुरुङ, अमर बहादुर रानामगर, रोशन बुढाथोकी र अजय थापा फरार रहेका छन् । गौचनको असोजको २३ गते नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा गोली हानी हत्या भएको थियो ।

कमेन्टहरु
Loading...