सम्पत्तिकारण दाहाल परिवारको ज्यान

काठमाडौ, ८ साउन /बनेपा–७ स्थित बसपार्कमा गौतम भोजनालय नामको होटल सञ्चालन गर्दै आएका दाहाल परिवारको रहस्यमय मृत्यु भएपछि उन्पन्न विवाद शनिबार समाधान भएको छ ।

बनेपा नगरपालिका–२ का वडा अध्यक्ष हरिशरण घिमिरेसहित दुई घण्टासम्म भएको वार्तापछि शब उठाउने सहमति भएको हो । मृतकहरुको शव पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा ल्याइएको छ ।

कान्छी श्रीमतीको नाममा रहेको सम्पत्ति जेठी श्रीमतीलाई पनि दिने सहमति भएपछि आफन्तहरुले शव बुझिलिएका छन् । जिल्ला प्रहरी प्रमूख प्रहरी उपरीक्षक सहकुल बहादुर थापा, वडाध्यक्ष हरिशरण घिमिरे, मृतक राजारामका कान्छी श्रीमती पुजा, जेठी श्रीमती बीच इलाका प्रहरी कार्यालय बनेपामा भएको सर्वपक्ष छलफल पछि यस्तो सहमति भएको हो ।

घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरोको टोली समेत घटनास्थल आइपुगेको छ । शिक्षण अस्पताल महाराजगञ्जका डाक्टर सहित ब्यूरोका डिएसपी अरुण पौडेलको नेतृत्वमा ७ जनाको टोलीले अनुसन्धान थालेको छ ।

मृतक राजाराम दाहालका जेठी श्रीमती पक्षका आफन्तहरुले सम्पत्तिका कारण कान्छी श्रीमतीले हत्या गरेको आरोप लगाएका छन् । राजारामले भएभरका सम्पत्ति कान्छी श्रीमतीको नाममा गरिदिएको र जेठी श्रीमतीले पनि सम्पत्तिमा दाबी गरेपछि सामूहिक हत्या गरेको उनीहरुको दाबी ।

शुक्रबार काभ्रेको बनेपा नगरपालिका बसपार्कमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका थिए । मृत्यु हुनेमा हरिभक्त दाहाल, उनकी ६० वर्षीया श्रीमती हरिमाया दाहाल, ३२ वर्षीय छोरा राजाराम दाहाल र २५ वर्षीया छोरी रञ्जना दाहाल थिए ।

बनेपा–७ स्थित बसपार्कमा गौतम भोजनालय नामको होटल सञ्चालन गर्दै आएका दाहाल परिवार मृत भेटिएका हुन् । राजारामको दुई श्रीमती रहेका छन् । कान्छी श्रीमती पुजा राजारामसँगै बनेपामा र जेठी श्रीमती कमला स्थायी घर साविकको टुकुचा नाला गाविस–८ हालको बनेपा नगरपालिका वडा नम्बर २ मा खेती किसानी गर्दै आइरहेकी छन् ।

कमेन्टहरु
Loading...