रिभानका बाढी पीडितलाई एक्यापद्वारा राहत सहयोग वितरण

पोखरा, २७ साउन /अन्नपूर्ण संरक्षण क्षेत्र इलाका संरक्षण कार्यालय ल्वाङ अन्तर्गत पर्ने माछापुच्छ«े गाउँपालिका वडा नं. ५ रिभान स्थित ताप्रेबस्तीमा मंगलबार राति बढेर आएको खहरे खोलाले घरवार विहिन भएका र उच्च जोखिममा परेका १६ घर परिवारलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले राहत वितरण गरेको छ ।

बाढीबाट पिडित बनेका देविलाल लामिछाने, प्रविण लामिछाने, गंगाबहादुर बि.क. डम्बर बहादुर परियार, नर बहादुर बि.क., जंग बहादुर बि.क., गंगा आचार्य, दिलनाथ पौडेल, हिमलाल भुषाल, शन्तु लामिछाने, प्रेम बहादुर बि.क., राजमान बि.क., भिम बहादुर बि.क., खिम कुमारी बि.क., रेशम लामिछाने र शिर बहादुर बि.क.लाई राहत सहयोग उपलब्ध गराइएको हो ।

आफन्त तथा छिमेकीको घरमा शरण लिएर बसेका पीडित परिवारलाई एक्यापले प्रति घरलाई १५ हजार दरले घटना स्थलमा पुगी नगद राहत वितरण गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा आयोजित कार्यक्रममा माछापुच्छे गाउँपालिकाका अध्यक्ष श्री कर्ण बहादुर गुरुङ र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय ल्वाङ्गका कार्यालय प्रमुख यम बहादुर गुरुङ्गले बाढी पीडितलाई संयुक्त रुपमा राहत रकम हस्तान्तरण गर्नु भएको थियो ।

राहत प्राप्त गरे पश्चात पिडितले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनालाई सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए । राहत वितरणका लागि एक्यापको तर्फबाट इलाका संरक्षण कार्यालय ल्वाङका कार्यालय प्रमुख यम बहादुर गुरुङ, र संरक्षण अधिकृत अशोक सुवेदी सहितको टोली घटनास्थल पुगेको थियो ।

कमेन्टहरु
Loading...