हेम्जामा ट्याक्टर दुर्घटना हुदाँ एकको मृत्यु

पोखरा, १५ वैशाख/पोखराको हेम्जामा शनिबार ट्रयाक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । मृत्यु हुनेमा कास्की माछापुच्छ्र्रे ४ मकैखोला घर भएका ३४ वर्षीय दीपक परियार रहेका छन् ।

कास्कीको घाचोकबाट पोखरा आउँदै गरेको ग१च ३०८८ नम्बरको ट्रयाक्टर हेम्जाको तिब्बेतियन क्याम्प नजिकै पल्टिएको हो । परियारसँगै १५ वर्षीय माछापुच्छ्रे ३ का सरोज नेपाली सामान्य घाईते छन् । उनको पोखराको सहारा अस्पतालमा उपचार भईरहेको कास्कीका प्रहरीको भनाई छ । ट्रयाक्टर बिग्रिएको कारण दुर्घटना भएको अनुमान गरिएको छ । ट्रली छुटेर इन्जिनको भाग घोप्टो पर्दा चालक गम्भिर अवस्थामा उद्धार गरिएपनि मनिपाल अस्पतालमा पुर्याउँदा मृत घोषणा गरिएको थियो ।

पोखराको हेम्जामा चार महिना नपुग्दै पाँच जनाले ज्यान गुमाइसके । गत चैत २० गते मिनी ट्रकको लापरबाहीको शिकार दुई युवा भएका थिए । तिब्बतियन क्याम्प नजिकैको चोकमा पोखराबाट हेम्जा फर्किरहेका दुई युवा सवार स्कुटरलाई लापरबाही ढंगले चलाइएको ग१क २३३४ नम्बरको ट्रकले ठक्कर दिँदा चालक स्थानीय २२ वर्षीय शंकर कुँवरको घटनास्थलमै मृत्यु भएको थियो भने पछाडि सवार १८ वर्षीय रोशन केसी घाईते भएकोमा उपचारकै क्रममा उनको पनि ज्यान गएको थियो । ग१४प ३६३६ नम्बरको उक्त स्कुटर टायर समेत फुट्ने गरी धुजा धुजा भएको थियो ।

त्यसअघि, फागूपूर्णिमाको राति फागुन १७ गते हेम्जामा दुर्घटनामा परी एक जनाको मृत्यु भएको थियो । राति साढे २ बजेतिरको समयमा पोखरा लेखनाथ वडा नं। २५ उपल्लो हेम्जामा स्कुटर आफै पल्टिदाँ पछाडि बस्ने २१ वर्षीय सूर्य प्रसाद अधिकारीको उपचारकै क्रममा निधन भएको थियो । ग १३ प ८८१० नम्बरका सो स्कुटर चालक २२ वर्षीय विकास अधिकारी घाईते भए ।

माघे संक्रान्तिका दिन पोखरा २५ स्थित सुईखेतमा साँझ दुई मोटरसाईकल आपसमा जुध्दा एक जनाको मृत्यु भयो । दुर्घटनामा परी तीन जना घाईते भए । हेम्जाबाट फेदीतर्फ गईरहेको ग ७ प ७१३४ नम्बरको मोटरसाईकलमा सवार हेम्जाका ४५ वर्षीय घनश्याम त्रिपाठीको ज्यान गएको हो ।

उनले चलाएको मोटरसाईकल विपरित दिशाबाट आईरहेको लु ५ प ३९१४ नम्बरको मोटरसाईकलसँग साँझ सवा ६ बजे ठोक्किएको थियो । त्रिपाठी पछाडि सवार माछापुच्छ्रे ७ धम्पुस बस्ने ४२ वर्षीय कमल भण्डारी गम्भिर घाईते भए । यस्तै, पाल्पा घर भई पोखरा नदिपुर बस्ने अर्का मोटरसाईकल चालक २१ वर्षीय आनन्द रसाईली र २१ वर्षकै समिर रसाईली घाईते भए ।

कमेन्टहरु
Loading...