रसुवामा पहिरोमा परेर ४ जनाको मृत्यु, ११ जना सम्पर्कविहीन

रसुवा,१० साउन/अविरल वर्षापछिको पहिरोले रसुवामा प्रहरी पोस्ट होटल तथा अस्थायी घर पुरिँदा ४ जनाको ज्यान गएको छ । ११ जना सम्पर्क विहीन छन् भने ४ जना घाइते भएका छन् ।पहिरोले गोसाइँकुण्ड गाउँपालिकाको टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट र त्यस वरपर सञ्चालनमा रहेका होटल तथा अस्थायी घर पुरेको हो ।

रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्टसँगै आसपासका घर तथा होटल पुरिँदा अहिलेसम्म ४ जनाको ज्यान गएको र ११ जना सम्पर्क विहिन भएको जानकारी दिए । ज्यान गुमाउने चारै जना सिन्धुपाल्चाेकका भएको पुष्टि भएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी पौडेललका अनुसार भोटेकोशी गाउँपालिका–५ का अन्दाजी ४२ वर्षीय श्याम श्रेष्ठ, सोही ठाउँका २७ वर्षीय विक्रम श्रेष्ठ, सोही ठाउँकै ४५ वर्षीय मंगल तामाङ र सोही गाउँपालिकाका ४ का ३५ वर्षीय रमेश भनिने सुश खड्काको पहिरोमा पुरिएर ज्यान गएको हो ।

पहिरोले केही कन्टेनर तथा ट्रकसमेत पुरेको प्रजिअ पौडेलले जानकारी दिए ।अविरल वर्षापछि सडक अवरुद्ध भएकाले खोजी तथा उद्धारका लागि घटनास्थल पुग्न केही कठिनाइ भएको प्रजिअ पौडेलले बताए । टिमुरे चीनसँगको उत्तरी नाका रसुवागढी नजिकैको बजार हो । घटनास्थल सदरमुकाम धुन्चेबाट करिब २५ किलोमिटरको दूरीमा रहेको छ ।

कमेन्टहरु
Loading...