माइक्रोबसको ठक्करबाट घाइते पौडेलको पनि ज्यान गयो

मृतक दुवैको अन्त्यष्टि
चालकलाई कडा कारवाही नभए कडा आन्दोलन गर्ने चेतावनी

पोखरा, २९ चैत /माइक्रोबसको ठक्करपछि गंभिर घाइते भएका सन्दिप पौडेलको पनि मृत्यु भएको छ । उनको उपचारको क्रममा गण्डकी मेडिकल कलजेमा बिहिबार बिहान मृत्यु भएको हो । गत मंगलबार उनी सवार ग ९ प २१९१ नम्बरको पल्सर मोटरसाइकललाई ग १ प ३८७७ नम्बरको माइक्रोबसले ठक्कर दिएको थियो । माइक्रोले ठक्कर दिंदा मोटरसाइकल चालक शोभाकान्त पनेरुको घटनास्थलमै मृत्यु भएको थियो । घाइते पौडेलको तीन दिन पछि ज्यान गएको हो ।

मृतक दुबैको बिहिबारै अन्त्यष्टि गरिएको छ । पनेरुको सेती रामघाटमा तथा पौडेलको दोविल्ला घाटमा अन्त्यष्टि गरिएको हो । मृतक दुवैका परिवारले बिहिबारनै शव बुझेका हुन् । यसअघि पनेरुको मृत्युपछि विद्यार्थी र आफन्त आन्दोलित बनेका थिए । उनीहरुले बुधबार दिउँसो पोखरामा सार्वजनिक यातायात सञ्चालनमा समेत अवरोध पु¥याएका थिए ।

मृतक दुवैका आफन्तले चालक दिप्तीनारायण ढकाललाई हदैसम्मको कारवाही हुनुपर्ने माग गरेका छन् । ‘प्रशासनले उनलाई कडा कारवाही गर्ने आश्वासन दिएकालेनै हामीले शब बुझेका हौ’ मृतक पनेरुका ठुलोबुवा दुर्गाप्रसाद पनेरुले बताए । ‘हामीलाई ५ लाखको प्रलोभन देखाइएको छ, तर हाम्रो माग चालकलाई कडा कारवाही हुनुपर्छ भन्ने हो’ उनले भने । विमा वापत नियमलेनै पाइने पाँच लाख देखाउँदै कसैको ज्यान लिन नपाइने उनको भनाई छ । ‘पाँच लाख तिरेर मान्छे मार्न पाइने, यो कस्तो कानुन हो ?’ उनले प्रश्न गरे ।

त्यस्तै अर्का मृतक पौडेलका आफन्त हुमप्रसाद अधिकारीले पनि प्रशासनले चालकलाई कडा कारवाही नगरे फेरी सडकमा आउन बाध्य हुने चेतावनी दिए । स्याङ्जा घर भइ हाल ड्यामसाइड बस्दै आएका २२ वर्षिय शोभाकान्त पनेरु छोरेपाटनस्थित गुप्तेश्वर बहुमुखी क्याम्पस व्यवस्थापन संकाय स्नातक तह दोस्रो वर्षमा पढ्थे । अर्का मृतक २४ वर्षिय सन्दीप पौडेल पोखरा लेखनाथ महानगरपालिका वडा २१ का हुन् ।

घटनापछि आन्दोलित बनेको पोखराका विद्यार्थीहरुले बुधबार दिनभर पोखराको सडकमा नाराबाजि गरेका थिए । आन्दोलित विद्यार्थीले मान्छे मार्न पाइँदैन, हत्याको निष्पक्ष छानबिन गर, चालकको लाइसेन्स खारेज गर लगायतका नाराबाजी गरेका थिए । बस चालकलाई कडा कारवाही नभए आफुहरु फेरी सडकमा उत्रने विद्यार्थीहरुले चेतावनी दिएका छन् ।

कमेन्टहरु
Loading...