गोरीकला हत्यामा प्रहरी जवानसहित ३ जना पक्राउ

चैत १४ /सुर्खेतको पञ्चपुरी नगरपालिकास्थित बाबियाचौरमा मृत फेला परेकी छात्रा गोरीकलाको हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ट्राफिक प्रहरी जवानसहित ३ जनालाई पक्राउ गरेको छ। पञ्चपुरी नगरपालिका–३, चौर घर भई एसईई परीक्षा दिन बाबियाचौर आएकी गोरीकला रोकायाको मंगलबार हत्या भएको थियो ।

हत्या आशंकामा अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत हरि कोइरालासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिए छ । पक्राउ पर्नेमा पञ्चपुरी नगरपालिका–८ का लक्ष्मीप्रसाद बास्तोला पनि हत्यामा संलग्न भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ट्राफिक प्रहरी कोइरालाले शारिरीक सम्बन्धका लागि आफूलाई ‘केटी मिलाउन’ आग्रह गरेपछि गोरीकलालाई उनीसँग भेट गराइदिएको बास्तोलाले बयान दिएका छन्। उनले दिएको बयान अनुसार त्यसपछि गोरीकला र प्रहरी जवान कोइरालाले सोमबार दिउँसो डेरादेखि केही टाढा जंगलनजिक बसेर मदिरा खाएका थिए।

त्यहाँबाट फर्कने क्रममा ती प्रहरी जवानले चलाएको मोटरसाइकलबाट खसेर युवती घाइते भएको र, घाइते अवस्थामै मेडिकल नलिई उसकै डेरामा सुताएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी उमाप्रसाद चर्तुवेदीले बताए। उनका अनुसार युवतीको मृत्यु राति करिब एक बजेपछि भएको अनुमान गरिएको छ। १८ वर्षीया गोरीकला मंगलबार बिहान बाबियाचौरस्थित डेरामै मृत अवस्थामा भेटिएकी थिइन्।

कमेन्टहरु
Loading...