पोखरामा लेकसाइडको लजमा फ्रान्सेली पर्यटकको मृत्यु

पोखरा १० असार /पोखराको लेकसाइडको एक लजमा फ्रान्सेली पर्यटक मृत भेटिएका छन् । पोखरा लेखनाथ महानगरपालिका ६ लेकसाइडको खहरे स्थित नमस्ते लजमा फ्रान्सेली नागरिक ३० वर्षिया फ्रान्सोक इन्सिक क्रस्टियन मृत भेटिएका हुन् ।

सोमवारदेखि लजमा बसेका उनी बिहीबार सम्म बाहिर देखिएका थिए । शुक्रवार देखि कोठाबाट बाहिर ननिस्किएको र कोठाबाट छुट्टै गन्ध आउन थालेपछि होटलका कर्मचारीले शनिवार विहान कोठामा हेर्न गएका थिए । उनको कोठा भित्रबाट पनि लगाइएको थिएन । होटलका कर्मचारीले हेर्दा उनी भित्र झुण्डिरहेको अबस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

आफु बसेको कोठाको झ्यालमा रहेको फलामे डन्डीमा पासो लगाएर उनले आत्महत्या गरेको घटनास्थलको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जानकारी दिएको छ । कम बोल्ने र पेन्टिङ गर्ने उनले खाना पनि कोठाभित्रै पकाएर खाने गरेकाले दुई दिन सम्म होटलका कर्मचारीले पनि खोजतलास नगरेको जनाएका छन् । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । उनको शब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

 

कमेन्टहरु
Loading...