पोखराको फिष्टेल हस्पिटलमा २ वर्षिय बालकको मृत्यु, लापरबाहीले ज्यान गएको आफन्तको आरोप

पोखरा, ८ चैत / सामान्य झाडापखाला लागेर उपचार गर्न पोखराको फिष्टेल हस्पिटलमा ल्याएका २ वर्षिय बालकको मृत्यु भएको छ । बागलुङको जैमिनी नगरपालिका १ कुस्मीसेराका दिपकराज सापकोटाका छोरा दिव्यासु सापकोटाको शुक्रबार राति मृत्यु भएको मृतक बालकका ठुलोबुबा कमलराज सापकोटाले बताए ।

‘सामान्य झाडापखला लाएर पोखरा मेडिकल हलमा डा. भाईरत्न शाक्यसँग जाँच गराएपछि, थप उपचारको लागि डा. शाक्यले फिस्टेल हस्पिटल रिफर गरे र यहाँ ल्याएका थियौं,’ सापकोटाले भने – ‘स्पेशल क्याविनमा भर्ना गरिएको थियो, नर्सले सुई लगाएपछि बाबू बेहोस भयो अनि होस नै आएन ।’ लापरबाहि गरेका कारण भतिजको ज्यान गएको कमलराजको दावी छ ।

बालकलाई शुक्रबार साँझ ६ः३० बजे फिष्टेलमा भर्ना गरिएको थियो । राति ८ः३० बजे नर्सले सुई लगाए पछि बेहोस भएको र तुरुन्तै आईसियुमा राखिएको बालककी ठुलोममी शिला सापकोटाले बताए ।
सुई दिएपछि बेहोस भएका बालकलाई राति ९ः१५ बजे डाक्टरले मृत घोषणा गरेको सापकोटाले बताए । मृतक बालकका आफन्तले नर्सको लापरबाहिको कारण बालकको मृत्यु भएको भन्दै बिरोध जनाएका छन् ।

यसैबीच अस्पताल प्रशासनले कहिँकतै समस्या भए सुधार गर्ने बताएको छ । फिस्टेल हस्पिटल प्रालिका अध्यक्ष डा. भोला श्रेष्ठले यस्ता कमीकमजोरी कसरी भईरहेका छन् भनेर गहिरो अध्ययन हुन जरुरी भएकाले आफुले छानविन समिति बनाउने बताएका छन् । यद्यपी लापरबाहीकै कारणले बालकको ज्यान गएको हो भनेर प्रशासनले अहिले नै स्विकार गर्न नसक्ने बताउछन् ।

कमेन्टहरु
Loading...