बालकको अपहरणपछि हत्या, प्रहरी इन्काउन्टरमा २ ‘अपहरणकारी’ को मृत्यु

काठमाडौं, २१ साउन /सोमबार भक्तपुरमा एक बालकको अपहरणपछि हत्या भएको छ । आइतबार साँझ अपहरणमा परेका ११ वर्षिय निशान खड्काको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले भक्तपुरको डोलेश्वरमा निशान खड्काको शव फेला पारेको हो । खड्का काँडाघारी कै हाइल्याण्ड स्कुलमा कक्षा ६ मा अध्यनरत थिए । अपहरणकारीले बालकका बुवाआमासँग ४० लाख फिरौती मागेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीको इन्काउन्टरमा परि सोमबार २ जनाको मृत्यु भएको छ । प्रहरीले दुई जना खड्कालाई अपहरण गर्ने अपहरणकारी भएको जनाएको छ । बालकको शव डोलेश्वरमा भेटिएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा अपहरणकारी पनि त्यही क्षेत्रमा लुकेको सूचना पाएको थियो ।

प्रहरीले पिछा गर्दै जाँदा प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले जवाफी कारबाहीमा चलाएको गोली लागेर दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा अजय तामाङ र गोपाल तामाङ रहेको प्रहरीको भनाई छ । घटनास्थलबाट प्रहरी एक थान पेस्तोल, दुई राउन्ड गोली र फिरौती माग्न प्रयोग भएको सिमकार्ड बरामद भएको जनाएको छ ।

कमेन्टहरु
Loading...