सर्वोच्चबाट दोषी ठहर गरिएका माओवादी नेता ढुंगेल पक्राउ

काठमाडौं, १४ कात्तिक /प्रहरीले पक्राउ गरेका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई डिल्ली बजार कारागार चलान गरिएको छ ।ओखलढुंगाका उज्जन कुमार श्रेष्ठको हत्यामा सर्वोच्च अदालतबाट दोषी ठहर गरिएका पूर्वसभासद समेत रहेका ढुंगेललाई मंङलबार​ बिहान ललितपुरको सातदोवाबाटोबाट पक्राउ गरेर​ जिल्ला अदालत काठमाडौंले फैसला कार्यान्वयनका लागि डिल्लीबजार कारागार पठाएको हो ।

ढुंगेललाई दोषी ठहर गरेको फैसला जिल्ला अदालत ओखलढुंगाबाट फ्याक्स मार्फत मगाएर छलफलपछि काठमाडौं जिल्ला अदालतले ढुंगेललाई कारागार पठाएको थियो । उनलाई सञ्चारकर्मीसँग प्रतिक्रिया दिन पनि नदिइकन कडा सुरक्षाका बीच कारागार पठाइएको हो ।प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइवीको टोलीले ढुंगेललाइ मंङलबार​ बिहान ११ बजे सातदोवाटोबाट पक्राउ गरेको थियो ।अब ढुंगेलले पहिले जेल बसेको अवधि कट्टा गरेर बाँकी हुन आउने १२ वर्ष पाँच महिना २२ दिन थुनामा बस्नुपर्नेछ ।अदालतले ढुंगेललाई दोषी ठहर गरेर सर्वश्व सहित जन्मकैदको फैसला सुनाएपछि उनी फरार भ​एका थिए ।

दोषी ठहर गरेका ढुंगेललाई प्रहरीले पक्राउ नगरेको भन्दै प्रहरी महानिरीक्षकमाथि अदालतको मानहानी गरेको भन्दै सर्वोच्चमा मुद्दा समेत​ दायर भएको थियो । एक हप्ताभित्र पक्राउ गर्न आदेश गरेपनि नपक्रिएको भन्दै आइजिपीमाथि अदालतको अवहेलन मुद्दा कात्तिक ८ गते अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेका थिए । त्यसको ६ दिनपछि ढुंगेल पक्राउ परेका हुन् । २०६६ पुस १९ गते जिल्ला अदालत ओखलढुंगाको फैसला सर्वोच्चले सदर गरेको थियो ।२०६४ सालको संविधानसभा चुनावमा ओखलढुंगा–२ बाट निर्वाचित ढुंगेल सभासद रहेकै बेला अदालतबाट दोषी प्रमाणित भएका थिए । ओखलढुंगाका उज्जन कुमार श्रेष्ठको २०५५ साल असार १० गते हत्या भएको थियो ।

यसैबिच​, नेकपा माओवादी केन्द्रले पूर्वसांसद बालकृष्ण ढुंगेलको पक्राउ शान्ति–सम्झौता विरुद्ध रहेको जनाउँदै तत्काल उनको रिहाइको माग गरेको छ ।माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले पत्रकारसँग कुराकानी गर्दै द्वन्द्वकालीन मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगबाटै समाधान गरिने शान्ति–सम्झौताको मर्म विपरीत बालकृष्ण ढुंगेललाई पक्रिनु निन्दनीय भ​एको भन्दै उनलाई तत्काल रिहा गरिनु पर्ने बताएकी हुन् ।ढुंगेल विरुद्ध लगाइएको मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगले नै हेर्नुपर्ने उनको भनाइ छ ।निर्वाचनका समयमा आएर ढुंगेललाई पक्रनु निर्वाचन नगर्ने षड्यन्त्र हुनसक्ने आशंका गर्दै नेत्री भुसालले शान्तिपूर्ण निर्वाचन कुनैपनि बहानामा बिथोलिन नहुने बताइन् ।

यसैगरी, नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग वाइसिएलले बालकृष्ण ढुंगेललाई रिहाइ गर्न माग गरेको छ । द्वन्द्वकालका मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगले हेर्ने सहमति विपरित ढुंगेललाई पक्राउ गर्नु संविधानको उल्लंघन र चुनाव भाड्ने षड्यन्त्र भएको वाइसिएलले आरोप  छ ।चुनाव भाँड्ने षडयन्त्रदेखि सचेत रहन पनि वाइसिएलले आग्रह गरेको छ । ढुंगेललाई तत्काल रिहाई नगरे देशभरका ७७ वटै जिल्लामा द्वन्द्वकालिन मुद्दाहरु व्युताएर नेपाली कांग्रेसका र राप्रपाका नेताहरुमाथि मुद्दा दायर गर्ने पनि वाइसिएलले चेतावनी दिएको छ ।

कमेन्टहरु
Loading...