अष्ट्रेलियामा सडक दुर्घटना पछि श्रीमतीको घाँटी थिचेको आरोपमा नेपालीलाई दुई वर्ष कैद

काठमाडौ, ६ असार /आफुले हाँकेको मोटर ठोक्किने बित्तिकै श्रीमतीको घाँटी थिचेको भन्दै एक नेपाली दीपक अधिकारीलाई अष्ट्रेलियाको अदालतले बुधबार दुई वर्षको जेल सजाय सुनाएको छ। रौतहटका ४६ वर्षीय अधिकारी लामो समयदेखि अष्ट्रेलिया बस्दै आएका व्यापारी हुन्।

एम वन मोटर वेमा उक्त दुर्घटना हुने बित्तिकै दुवै हात श्रीमतीको गलामा लगेर एउटा आँखा बाहिर निस्कुन्जेल थिच्ने श्रीमानको उक्त गतिविधि अचम्मलाग्दो भएको न्यायाधीशले फैसलामा सुनाएका छन्। दुई सन्तानका पिता दिपकले गोस्फोर्ड स्थानीय अदालतमा सुनुवाइ चलिरहँदा अन्तिम क्षणमा दलिल परिवर्तन गरेपछि यस किसिमको एउटै अपराधमा हुनसक्ने अधिकतम सजायको फैसला गरिएको हो।

गत मार्च २७ तारिखका दिन अधिकारीले हन्र्सबी हाइट्सस्थित निवासबाट गाडीमा दक्षिणी भेगतिर जान फ्रि वे को उपयोग गरेका थिए। समर्सबीस्थित कारियोंग इन्टरचेन्जभन्दा करिब २ सय ५० मिटर दक्षिणतर्फ सडक मर्मतको निम्ति उभिइरहेको एउटा ट्रक भेटियो। उनको निसान एक्स्ट्रेल मोटरले त्यसलाई काटेर अघि बढ्न खोज्दा अचानक ठोक्कियो र १ सय ६० मिटर पर हुत्तियो। मोटरले तीन वटा लेन नाघ्दै उक्त सडकको बीच भागमा लगाइएको हरियालीनिर पुगेर अडेको थियो।

लगत्तै मोटरमा सुरक्षाका निम्ति राखिएको एयर ब्यागहरु निस्केको थियो। त्यसपछि दीपक चालकको सिटबाट निस्केर यात्रु चढ्ने अर्को ढोकातर्फ आएका थिए जहाँ उनकी १६ वर्षदेखिकी पत्नी पम्फा धिताल बसेकी थिइन्। अर्कोतर्फको ढोका नराम्रोसँग क्षतिग्रस्त भएकाले खोल्नै नसकिएपछि दिपक फेरि आफ्नै ढोकातर्फ आए र चालकको सिटतिरबाट श्रीमतीलाई ताने। यसरी श्रीमतीको शरीरलाई भुइँमा राखेपछि उनका दुवै हात श्रीमतीको घाँटीमा बढेको थियो।

छेउमै सहयोगका लागि रोकिएको ट्रकका चालकले दीपकले उनको श्रीमतीको घाँटी नराम्रोसँग अठ्याएको देखे जसका कारण केही बेर श्रीमतीको चेत पनि हराउन पुग्यो। श्रीमतीको ओँठसमेत निलो हुन थालिसकेको देखेपछि ती ट्रक चालकले दीपकलाई समातेर उनको हात घाँटीबाट हटाइदिएका थिए। देब्रे आँखा बाहिर निस्केको हिसाबले सम्भवत हेमरेजको पनि आशंकाका साथ घाँटीमा चोट बेहोरेकी पम्फालाई लगत्तै अस्पताल पुर्‍याइएको थियो।

चिकित्सकहरुका अनुसार पम्फाको शरीरको वायु प्रणालीलाई बाहिरबाट अवरुद्ध पारिएको कारण फाटेका आँखाका रक्तनलीहरु सकुशल नै परिचालन भइरहेका छन्। सिड्नीको नर्थ सोर क्षेत्रमा पिज्जा पसले रहेका दिपकलाई लापरवाहीपूर्वक सवारी हाँक्दै दुर्घटना गराएको र श्रीमतीलाई नियतपूर्वक घाँटी थिचेर मार्न खोजेको अभियोग लगाइएको छ। उनीमाथिको फैसला सुनाउने बेलामा भने लापरवाहीपूर्वक सवारी चलाइएको अभियोगलाई हटाएर श्रीमतीमाथिको ब्यवहारका आधारमा मात्र कैद सुनाइएको हो।

सुरुमा दीपक आफूले कुनै गल्ती नगरेको अडान राख्दै आएका थिए। जसको सुनुवाइ हुने भएपछि अचानक उनले बयान फेर्दै गल्ती भएको उल्लेख गरेका थिए। न्यायाधीश डेभिड डेका अनुसार दीपकले त्यो गल्ती गर्नुमा आफू तनावमा रहेको र केही दिनदेखि तनावकै कारण केही दिन सुत्न पनि नसकेको बताएका छन्। त्यसबाहेक उनले केही भनेका छैनन्।

दिपकले त्यसपछि प्रहरीलाई दिएको बयानमा भने आफूले त्यतिबेला के गल्ती गरेँ भनेर केही सम्झनै नसकिरहेको बताएका छन्। यसरी अचानक बिना कुनै कारण श्रीमतीमाथि गरिएको आक्रमणले दिपकको पारिवारिक जीवन र उनको वृहद् परिवारलाई नै गम्भीर असर पार्ने देखिएको न्यायाशीश डेभिडले उल्लेख गरेका छन्। सेतोपाटी डटकमबाट

कमेन्टहरु
Loading...