फेवा किनारमा नेपाल लिटरेचर फेस्टिभल २०१७ सुरु

पोखरा, १४ माघ /नेपाल लिटरेचर फेस्टिभल २०१७ (नेपाल साहित्य महोत्सव २०७३) फेवा किनारको नेपाल पर्यटन बोर्डमा आजदेखि सुरु भएको छ । वरिष्ठ आख्यानकार धु्रवचन्द्र गौतमले उद्घाटन गरे । माघ १७ गते सम्म चल्ने महोत्सवको छैठौँ संस्करणमा ४० सत्रमा लगभग एक वक्ताहरुले भाग लिँदै छन् ।

कार्यक्रमको विद्वत प्रवचन त्रिभुवन विश्वविद्यालयका भूतपूर्व कुलपति तथा शिक्षाविद केदारभक्त माथेमाले प्रस्तुत गरे । शक्तिशाली प्रवचनमा उनले शैक्षिक क्षेत्रका साथसाथै देशका सम्पूर्ण क्षेत्रहरुमा व्याप्त कुरिति, भ्रष्टाचार र बेथितिको कडा विरोध गर्दै यसविरुद्ध डटेर लड्न सबैलाई आह्वान गरे । यसपछि कवि शिरोमणि लेखनाथ पौड्यालको साहित्यिक देनप्रति श्रद्धा प्रकट गर्दै कवि प्रभा भट्टराईले उहाँका कविताहरुको वाचन गरीन् ।

सम्पूर्ण शब्दप्रेमीलाई पोखरामा स्वागत गर्दै संविधान सभाका सदस्य माननीय रविन्द्र अधिकारीले भने, “पोखरालाई प्राकृतिक केन्द्र मात्र नभइ सांस्कृतिक र सांस्कृतिक थलोको रुपमा यो महोत्सवले चिनाउँदैछ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशीले यसमै सही थप्दै भन्नुभयो, “यो महोत्सव पर्यटन विकासका लागि एउटा राम्रो श्रोत पनि हो ।”

औपचारिक उद्घाटन पछि सत्रहरुको शुरुवात भयो । पहिलो सत्र “पोखराः अबको परिकल्पना”मा पत्रकार सुजित महतले रविन्द्र अधिकारी र बुद्ध एयरका निर्देशक वीरेन्द्र बहादुर बस्नेतसँग विमानस्थल लगायतका पूर्वाधार निमार्ण भइसकेपछिको पोखरा कस्तो हुनुपर्छ भन्ने परिकल्पना गरे ।

दोश्रो सत्रका रुपमा “डेमोक्रयाट्स एण्ड डिसेन्टर्स” शीर्षकमा सम्पादक कनकमणि दिक्षितले अहिलेको समयमा प्रजातन्त्रको व्याख्या बारे वरिष्ठ भारतीय समाजशास्त्री र इतिहासकार रामचन्द्र गुहासँग विमर्श गरे । लगत्तैको सत्र “कहाँ छन् बौद्धिक ?”मा पत्रकार आदित्य अधिकारीले समाजशास्त्री चैतन्य मिश्र तथा राजनैतिक टिप्पणीकार सीके लालसँग नेपालमा बौद्धिक समाजको उपिस्थिति र महत्वका बारेमा खोजी गरे ।

अर्को सत्र “अ—लिखित संवाद” मा दुई लेखक धु्रवचन्द्र गौतम र खगेन्द्र संग्रौलाले लेख्न बाकीँ र कागजमा उतार्न बाकीँ भावनलाई खोतल्ने रमाइलो प्रयास पत्रकार देवेन्द्र भट्टराईले गरे । नेपाल साहित्य महोत्सव २०७३ को पहिलो दिनको अन्तिम सत्रमा पोखरेली संगीतकर्मीहरु रामभक्त जोजिजु र विनोद बानियाँको सुमधर सांगितिक प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो ।

समाप्ति पछि उत्साहित महोत्सव निर्देशक अजित बरालले, “पोखरालाई गत वर्ष गरेको वाचा निभाउन हामीले यो वर्ष यहाँ महोत्सव आयोजना ग¥यौँ, र पोखराले पनि बदलामा हामीलाई उत्तिकै माया र साथ दिएको छ ।”

कमेन्टहरु
Loading...