फुड फेष्टिबल तीन करोडको कारोबार गर्दै सकियो

पोखरा, २३ मङ्सिर। पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसियशनले पोखरामा आयोजना गरेको दोस्रो सिटी रेवान महोत्सव तथा फुड फेष्टिबल आइतबार सम्पन्न भएको छ। पर्यटन प्रवद्र्वन, सामाजिक सेवा, उपभोक्ताको हित र लोक संस्कृतिको विकास गर्ने उदेश्यले आयोजना गरिएको महोत्सव अपेक्षाकृत सफलता हासिलगर्दै सम्पन्न भएकोमा आयोजकले खुशी व्यक्त गरेका छन्।
११ दिनसम्म चलेको महोत्सव एक लाख ९० हजार दर्शकले अवलोकन गरेको र तीन करोडभन्दा बढिको आर्थिक कारोबार भएको महासचिव एवं प्रचार प्रसार समितिका संयोजक दिपक तिमिल्सिनाले जानकारी दिए। महोत्सवमा आयोजना गरिएको गृहिणी नृत्य प्रतियोगितामा सबिना गुरुङ प्रथम, माया लामा द्वितिय, प्रभा पौडेल तृतीय र पुजा सुनामले सान्त्वना स्थान हासिल गरेका छन्। विजेतालाई क्रमशः सुनको तिलहरी, चन्द्रमा, सारी र कुर्था सलवार प्रदान गरिएको छ।

महोत्सवको आकर्षणमा खानाका परिकारहरुवीच प्रतियोगिता, राष्ट्रिय स्तरको खुल्ला लोकदोहोरी प्रतियोगिता, गृहणी महिला नृत्य प्रतियोगिता, उपभोग्य बस्तुको प्रदर्शनी, स्थानीय उत्पादनको प्रदर्शनी, बाल उद्यान र ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती रहेको थियो।
महोत्सव समापन समारोहमा बोल्दै होटल व्यवसाय महासङ्घका अध्यक्ष अमृत भुजेलले पर्यटकीय नगरी पोखरामा पर्यटकलाई लक्षित गरी गतिविधि संचालन गरिनुपर्ने बताए।

उनले पोखराको विकासका लागि सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए। पोखरा पर्यटन परिषद्का अध्यक्ष सूर्य भुजेलले पर्यटन प्रवद्र्वनका लागि सवैपक्ष सहकार्य गनुपर्ने आवश्यकता औल्याए। पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष संजीवबहादुर कोइरालाले आर्थिक
गतिविधिलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने समय आएको बताए। त्यसअवसरमा एशोसियशनका संस्थापक अध्यक्ष चिरञ्जिवि श्रेष्ठ र अग्रज दोहारी गायक प्रजापति पराजुलीले बोलेका थिए।

कमेन्टहरु
Loading...