पोखरा, २३ मंसिर/कन्या क्याम्पस नदीपुर पोखराले २३ वार्षिकोत्सव मनाएको छ । कार्यक्रमका प्रमुख अतिथी उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले नारी शिक्षामा क्याम्पसको अमूल्य योगदान रहेको चर्चा गरे । दश जोड दुईबाट अध्यापन शुरु गरेको क्याम्पसले हाल स्नातकोत्तर तहसम्म पठनपाठन शुरु गरेर दक्ष जनशक्ति उत्पादनमा लागेकोमा उनले क्याम्पसलाई उत्तरोत्तर प्रगतिको शुभकामनासमेत दिए । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष सुशिलकुमार गोशलीको सभापतित्वमा भएको कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका सदस्य मदन शर्माले सहभागीलाई स्वागत मन्तव्य राखेका थिए भने निमित्त क्याम्पस प्रमुख मेजरमान बज्राचार्यले वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।
वार्षिकोत्सवको अवसरमा क्याम्पसले विद्यार्थीहरुलाई विभिन्न विधामा पुरस्कार एवं छात्रवृत्ति प्रदान गरेको छ । जसमध्ये दस जोड दुईतर्फ प्रथम श्रेणीमा उत्तीर्ण हुने मानविकीतर्फ जानकी सुवेदी, व्यवस्थापनतर्फ रुपा शर्मा र शिक्ष संकायतर्फ सृजना बुढालाई ‘कर्णशंकर गणेशदेवी पालिखे जेहेन्दार शैक्षिक छात्रवृत्ति’ प्रदान गरेको छ । त्यस्तै, सोही छात्रवृत्तिको अक्षयकोषबाट सबी अधिकारी, ममता नेपाली, सिता तिजिला, प्रमिला श्रेष्ठ र रोशनी श्रेष्ठलाई क्याम्पस पोशाकवापत जनही १ हजार रुपैयाँ प्रदान गरिएको छ ।
व्यवस्थापन संकायतर्फ उमावि तहमा स्व सूर्यकुमार बज्राचार्यको स्मृतिमा क्याम्पसका सहायक क्याम्पस प्रमुख मेजरमान बज्राचार्यद्वारा रुपा शर्मालाई ‘स्व. सूर्यकुमार बज्राचार्य स्मृति स्वर्णपदक’ प्रदान गरिएको छ । शिक्षाप्रेमी भुवन भारीज्युद्वारा कक्षा १२ मा अध्ययनरत विद्यार्थी चीजा सुनारलाई जेहेन्दार तथा विपन्न छात्रवृत्तिको नाममा ‘तिलकबहादुर भारी स्मृति छात्रवृत्ति’वापत ७ हजार रुपैयाँ प्रदान गरिएको छ । त्यस्तै, ‘स्व. बाबुलाल मुनिमाया मल्ल स्मृति शैक्षिक छात्रवृत्तिअन्तरगत कक्षा ११ का सुशिला सुनार र अञ्जना सुनारलाई जनही ७ हजार रुपैयाँ प्रदान गरियो ।
यसैगरी, तहगत परीक्षातर्फ उत्कृष्ट भएका दश जोड दुईका विद्यार्थी जानकी सुवेदी, रुपा शर्मा, सृजना बुढा र स्नातक तहका कृष्णकुमारी श्रेष्ठ, पार्वती छन्त्याल र यमुना गुरुङलाई समेत पुरष्कृत गरिएको छ । क्याम्पस सञ्चालक समिति अध्यक्ष सुशिलकुमार गोशलीद्वारा एमबीएस प्रथम वर्षमा सर्वाधिक अंक हासिल गरी प्रथम हुने टिकाकुमारी छन्त्याललाई ‘स्व. निरमाया गोशली शैक्षिक छात्रवृत्ति अक्षयकोष’बाट ३९ हजार रुपैयाँ प्रदान गरिएको छ ।
क्याम्पसका उपप्राध्यापक केशवशरण पराजुलीद्वारा शिक्षा संकायतर्फ सर्वाधिक अंक ल्याउने किरण शेरपुञ्जालाई नगद १ हजार रुपैयाँ र सञ्चालक समिति सदस्य वामन पराजुलीद्वारा नेपाली विषयमा सर्वाधिक अंक प्राप्त गर्न सफल कमला डाँगी र सृजना बुढालाई जनही ५ सय रुपैयाँ पुरस्कार दिइएको छ । त्यस्तै, ‘स्टुडेन्ट अफ दी इयर’ उपाधि विजेता स्वेताकुमारी गुप्तालाई क्याम्पसले ३ हजार रुपैयाँ र उपहार प्रदान गरेको छ ।
त्यस्तै, क्याम्पस व्यवस्थापन समितिका पूर्व सदस्य मेजर केशव तामाङ्ले ‘श्री केशव तामाङ् रेनुका तामाङ् शैक्षिक छात्रवृत्ति कोष’ स्थापनार्थ १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । उक्त पुरस्कार विपन्न तथा जेहेन्दार विद्यार्थीलाई दिइने क्याम्पसले बताएको छ । सोही अवसरमा निबन्ध प्रतियोगिता हाजिरीजवाफ प्रतियोगितामा विजेता विद्यार्थीलाईसमेत पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका प्रमुख प्राडा देवेन्द्रबहादुर लामिछाने, जनप्रिय क्याम्पसका प्रमुख विरेञ्जी गौतम, उच्चमाध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय पोखरा प्रमुख रमेश अधिकारी, क्याम्पस व्यवस्थापन समितिका पुर्वअध्यक्ष लेखतमान लाभाजु, समितिका पूर्वसदस्य तेजनाथ घिमिरे, अभिभावककोतर्फबाट हरि कार्की, प्राध्यापककोतर्फबाट ज्योतीबाबु पौडेल र छात्राकल्याण समितिकातर्फबाट संयोजक प्रनिशा श्रेष्ठले मन्तव्य राखेका थिए ।
बिहानी र दिवा सत्रमा अध्यापन हुने क्याम्पसमा दश जोड दुईदेखि स्नातकोत्तर तहसम्म पठनपाठ हुँदै आएको छ । शिक्षा, मानविकी र व्यवस्थापन संकाय गरी क्याम्पसमा हाल १२ सय विद्यार्थी अध्ययनरत छन् ।