पोखरा, २२ मङ्सिर/दलित समुदायको हक हित र विभिन्न सिर्जनात्मक तथा रचना अभियान चलाउन सक्रिय दलित युवाहरुको भेलाले दलित युवा सञ्जाल नेपाल गठन गरेको छ । दलित समुदायमाथी हुने जातिय बिभेद तथा छुवाछुत बिरुद्ध आवाज उठाउने तथा दलित युवाहरुलाई सामाजिक क्षेत्रका सक्रिय बनाउने लगायतका उद्देश्यले सञ्जाल गठन गरिएको हो ।
दलित युवाको सामाजिक, साँस्कृतिक तथा राजनैतिक सशक्तिकरण गर्ने तथठा समग्र दलित समुदायको आर्थीक तथा सामाजिक जीवनस्तर उकास्नको लागि उत्पादन लगायतका अभियान सञ्चालन गर्ने उद्देश्यले गठन गरिएको सञ्जालका महासचिव भीमबहादुर बि.क. (क्षितिज)ले बताएका छन् ।
पोखरामा केन्द्रिय कार्यलय रहने सञ्जाल देशका विभिन्न जिल्लामा गठन गरि दलित समुदायको हकहितमा काम गर्ने बताईएको छ । केहि समय अघि म्याग्दीका युवा पुष्कर बिश्वकर्माको अध्यक्षतामा गठित सञ्जालको उपाध्यक्षमा दुर्गाकुमारी बि.क, महासचिवमा क्षितिज, सचिवमा सन्तोष सोनाम र कोषाध्यक्षमा कृष्णबहादुर गायक रहेका छन् ।
सञ्जालका सदस्यहरुमा जगमाया सुनार, किशोर परियार, कल्पना रसाईली, लक्ष्मी बि.क, भीमबहादुर बि.क र सुरज परियार रहेका छन् । ‘बिशुद्ध दलितहरुको हक हितमा काम गर्नको लागि देशब्यापी रुपमा दलित युवाहरुको संगठन बनाईएको हो’ महासचिव बि.कले भने–‘सञ्जाल दलित समुदायको सामाजिक, आर्थीक तथा साँस्कृतिक अभियानका कार्यक्रममा केन्द्रित हुनेछ ।’
सञ्जालले विभिन्न खालका कार्यक्रम तथा अभियानहरु सञ्जालन गर्ने बताएको छ । ‘दलित समुदायका युवाहरुको संघ संस्था कमै छन् भएपनि सक्रिय छैनन्’ सञ्जालका अध्यक्ष पुष्कर बिश्वकर्माले भने–‘सबै दलित युवाहरुलाई समेटेर सामाजिक क्षेत्रमा सक्रियताका साथ काम गर्न संगठित भएका हौं ।’ सञ्जालले दलित समुदायको हक र हितको पक्षमा विभिन्न खालका कार्यक्रमहरु गर्ने बताएको छ ।
पुष १३ गते सञ्जालले पोखरामा राष्ट्रिय राजनीति र संविधानमा दलित समुदायको स्थान तथा मुद्दा बिषयक बृहत अन्तरक्रिया कार्यक्रम गर्ने बताएको छ । सञ्जालको पुष २७ गते पहिलो साधारण सभा हुने छ । साधारणसभामा देशका १ दर्जन भन्दा बढि जिल्लाका दलित युवाहरुको सहभागिता हुने सञ्जालका सचिव सन्तोष सोनामले जानकारी दिए ।