हिलपोइन्टलाई कास्की जिल्लास्तरीय अन्तरमावि छात्र भलिबल प्रतियोगिताको उपाधि

पोखरा, २२ मङ्सिर। हिलपोइन्ट उमावि माटेपानी पोखराले कालिका डायमण्ड उमावि लेखनाथ–७ तालचोक कास्कीको रजतजयन्तीको अवसरमा  सञ्चालित कास्की जिल्लास्तरीय अन्तरमावि छात्र भलिबल प्रतियोगिताको उपाधि जितेको छ।शनिबार भएको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलमा कालिका उमावि रामबजारलाई सोझो तीन सेटमा पराजित गर्दै हिलपोइन्ट उमाविले उपाधि जितेको हो।बेस्ट अफ फाइभका आधारमा खेलाइएको सो खेलमा हिलपोइन्टले पहिलो सेट २५–२३, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–२३ मै जितेको थियो।जीतसँगै हिलापोइन्टले नगद १० हजार, शिल्ड र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेतामा सीमित भएको कालिकाले नगद सात हजारमा चित्त बुझाउन बाध्य भयो।
प्रतियोगितामा हिलपोइन्टकै सोम गुरुङ बेस्ट प्लयेर घोषित हुँदै नगद एक हजार पुरस्कार प्राप्त गर्न सफल भए। पहिलो सेमिफाइनल खेलमा कालिकाले चिरगादी बोर्डिङ स्कुल बाघमारालाई २५–१२ र २५–१९ को सोझो सेटमा पराजित गरेको थियो भने दोस्रो सेमिफाइनलमा हिलपोइन्टले जनप्रकाश उमावि भण्डारढिकलाई २५–८ र २५–१९ को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए। यसअघि भएको तेस्रो क्वाटरफाइनल खेलमा जनप्रकाश उमाविले शान्तिबाटिका स्कुलाई २५–१९ र २५–१५ को सोझो सेटमा पराजित गरेको थियो भने चौथो खेलमा हिलपोइन्टले करुणानिधि एजुकेशन फाउण्डेशन सिमपानीलाई २५–१२ र २५–१९ को सोझो सेटमा पराजित गरेको प्रतियोगिता संयोजक विनोद थापाले जानकारी दिए।दुई दिनसम्म सञ्चालन भएको सो प्रतियोगितामा १३ टीमको सहभागिता रहेको थियो।
विजेता तथा उपविजेता टीमलाई लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष बाबुराम गिरी, लेखनाथ नगरस्तरीय खेलकुद विकास समितिका अध्यक्ष चेतबहादुर गुरुङ, विद्यालयका प्राचार्य यामबहादुर रोका र निर्देशक समितिका अध्यक्ष एवं रजतजयन्ती मूल समारोह समितिका अध्यक्ष माधवशरण उपाध्यायले पुरस्कार वितरण गरेका थिए।
सो अवसरमा प्रमुख अतिथि लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष बाबुराम गिरीले निजी क्षेत्रको अग्रणी शैक्षिक संस्था एवं लेखनाथको शिक्षाको ढुकढुकी डायमण्ड उमाविले शैक्षिक क्षेत्रको अलावा सरसफाइ तथा मानवीय सेवाको क्षेत्रमा पनि पु¥याएको योगदानको प्रशंसा गरे।उनले यस्तो संस्थासँग निजी व्यवसायीहरूको संस्था लेखनाथ उद्योग वाणिज्य सङ्घले सहकार्य गर्ने अवसर पाएमा आफूहरू सधैँ अग्रसर हुने प्रतिबद्धता जनाए।
विद्यालय निर्देशक समितिका अध्यक्ष माधवशरण उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल यामबहादुर रोकाले स्वागत मन्तव्य राखेका थिए भने संस्थापक हरि लामिछानेले कार्यक्रम सञ्चलन गरेका थिए। विद्यालयले रजतजयन्तीको अवसरमा गत भदौ महिनादेखि छ महिने विभिन्न कार्यक्रम गर्दै आएको छ।
विद्यालयले रजतजयन्तीको अवसरमा आगामी माघ १५ देखि २१ गतेसम्म सप्ताहव्यापी कार्यक्रम गर्ने जनाएको छ। जसअनुसार माघ १५ गते रक्तदान तथा मिनी म्याराथन, १६ गते वृत्तचित्र प्रदर्शन, १७ गते सरसफाइ, १८ गते परिसंवाद र १९ देखि २१ गतेसम्म शैक्षिक प्रदर्शनी गरिने छ भने २१ गते समापन समारोह गरिने छ।

कमेन्टहरु
Loading...