प्रहरीको ‘आकस्मिक चेकजाँच’

रेम बिक
पोखरा, २० मंसिर /जिल्ला प्रहरी कार्यालय कास्कीले आपराधिक क्रियाकलाप नियन्त्रणका लागि ‘आकस्मिक चेकजाँच’ शुरु गरेको छ । एक हप्ता यता चलेको यो अभियानले आपराधिक क्रियाकलापमा संलग्न जो सुकैलाई नछोड्ने गरि सक्रियता बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
‘जुनसुकै समय र स्थानमा यो चेकजाँच हुनसक्छ ।’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजेशनाथ बाँस्तोलाले भने–‘सर्वसाधारणको सुरक्षाका लागि हामीले यस्तो खालको अभियान थालनी गरेका हौँ ।’ एक हप्ताको बिचमा यो अभियानबाट धेरै जना प्रभावित भएका छन् भने प्रहरीले ठुलो उपलब्धिको रुपमा लिएको छ ।
आकस्मिक चेकजाँचको क्रममा सबैभन्दा बढि प्रभावित मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरु छन् । एक हप्ताको बिचमा प्रहरीले पचास जना भन्दा बढि यस्ता सवारी चालकलाई नियन्त्रणमा लिएर कारबाहि गरेको जनाएको छ । त्यस्तै आकस्मिक चेकजाँचले वेश्यावृत्तिलाई पनि मुख्य तारोको रुपमा लिएको छ । आकस्मिक रुपमा होटल तथा रेस्टुरेन्टमा चेकजाँच गर्ने क्रममा प्रहरीले करिब ९ जनालाई नियन्त्रणमा लिएर कारबाहि प्रकृया अगाडी बढाईसकेको छ । कारबाहि पर्नेहरुमा पाँच जना युवती र चार जना युवक छन् ।
त्यस्तै प्रहरीको सक्रियता राजमार्गमा समेत निकै बढेको छ । पोखरा लेखनाथ नगरभित्र पर्ने राजमार्ग क्षेत्रमा आकस्मिक चेकजाँच गर्ने क्रममा प्रहरीले १ सय २२ वटा ट्रक, २ सय ६४ वटा जिप तथा कार, ५२ वटा ट्याक्टर र ६ सय ६९ वटा मोटरसाईकललाई कारबाहि गरेको छ । सवारीहरुलाई आकस्मिक रुपमा चेकजाँच गर्दा नियम मिचेको पाईएको कारण कारबाहि गर्नुपरेको प्रहरीले जनाएको छ । प्रहरीले सवारी कारबाहीबाटै एक हप्ताको बिचमा १ लाख ८० हजार तीन सय रुपैँया राजश्व संकलन भएको जानकारी दिएको छ ।
प्रहरीले मापसे गरेर सवारी चलाउनेहरुबाट प्रहरीले २६ हजार रुपैँया राजश्व संकलन गरेको जानकारी दिएको छ । त्यस्तै युवतीलाई ललाईफकाई गरेर वेचविखन गर्न लागेको एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ । मकवानपुर घर भएका २ जना युवतीलाई ललाई फकाई आफनो होटलमा ‘काम दिन्छु, धेरै तलव दिन्छु’ भनि प्रलोभनमा पारी जवरजस्ती यौनजन्य कार्य लगाएका सुवोध साँखीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । मंगलबार पक्राउ परेका साँखीले पोखरा ८ सिमलचौरमा बुद्ध खाजा घर संचालन गर्दै आएका छन् । उनलाई मानव वेचविखन तथा ओसारपसारमा मुद्धा दर्ता गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
आकस्मिक चेकजाँचकै क्रममा प्रहरीले बुधबार मात्रै लेखनाथ सैनीक वस्तीबाट लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको छ । पोखरा तथा लेखनाथ नगरपालिका र राजमार्गहरुमा हुने अपराध नियन्त्रण तथा रोकथामको लागि खटिएको टोलीले बुधबार राती ग.१.ज. ३७५५ नम्बरको भाडा कारबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा दुलेगौँडाका हेमनबहादुर सिंह तामाङ, पोखरा ८ न्यूरोडका आशबहादुर गुरुङ, तनहुँ ढोरफिर्दीका कुलबहादुर श्रेष्ठ र लमजुङ घर भै रामबजार बस्दै आएका राम गुरुङ रहेका छन् । प्रहरीले उनीहरुको साथबाट २३ थान डाईजापाम ईन्जेक्सन, ४ थान सिरिन्ज, २० थान नर्फिन ईन्जेक्सन र     फेनेरागन २० वटा बरामद गरेको जनाएको छ ।

कमेन्टहरु
Loading...