लमजुङ सङ्गम स्मारिका लोकार्पण

पोखरा, मङ्सिर १९ गते /लमजुङबाट पोखरा आई विभिन्न पेसा व्यवसाय गरी बसेका लमजुङेहरुको साझा संस्था लमजुङ–पोखरा सम्पर्क समितिको छैटौं स्मारिकाको साहित्यकार तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले लोकार्पण गर्नुभएको छ । स्मारिका लोकार्पण गर्दै श्रेष्ठले लमजुङ साहित्यिक, ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले पनि महत्वपूर्ण रहेको भन्दै नेपालकै पहिलो सम्पर्क समाजका रुपमा लमजुङ–पोखरा सम्पर्क समिति रहेको स्मरण गर्नुभयो । लमजुङको दुईपिप्ले नै नेपालको मध्यविन्दु भएको बताउँदै श्रेष्ठले लमजुङ नै नयाँ नेपालको राजधानी बन्न उपयुक्त स्थान भएकोमा समेत जोड दिनुभयो ।
समितिका अध्यक्ष गजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा मिलन समाजका अध्यक्ष सूर्य क्षेत्रीले स्मारिकाको समीक्षा गर्दै लमजुङेहरुको ऐतिहासिक सँगालोका रुपमा कृति प्रकाशन भएको भन्दै प्रशंसा गर्नुभयो । कार्यक्रममा विशेष अतिथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, क्षेत्रिय कार्यालय पोखराका उपसचिव रामजी दनाई, समितिका पूर्व अध्यक्ष प्रा. डा. पशुपतिनाथ तिमल्सेना, भूपनिधि पन्त, सम्पादक कल्याण पन्त, संयोजक विश्वलाल श्रेष्ठ, प्रथम उपाध्यक्ष सूर्यप्रसाद बराल, द्वितीय उपाध्यक्ष दीपकराज घिमिरेलगायतले बोल्नुभएको थियो ।
स्मारिकामा लमजुङको साहित्यिक, ऐतिहासिक, आर्थिक, सामाजिक, धार्मिक तथा पर्यटकीय विषयमा लमजुङ र अन्य जिल्लाका लेखकहरुका रचना समेटिएका छन् । विगत केही समय सुस्ताएको समिति हाल विभिन्न क्षेत्रमा क्रियाशील हुँदै आएको छ । समितिले लमजुङ–पोखरा बचत तथा ऋण सहकारी संस्थासमेत सञ्चालन गर्दै आएको छ । लमजुङेहरुलाई एकताबद्ध गराउन अझ प्रभावकारी कार्यक्रम सञ्चालन गरिने अध्यक्ष गजेन्द्रमान श्रेष्ठले बताउनुभयो ।

कमेन्टहरु
Loading...