अक्षरयात्राको शतक शृङ्खला सम्पन्न, सञ्जोगलाई प्रतिभा पुरस्कार

पोखरा, मङ्सिर १५ गते /पोखराबाट सञ्चालित साहित्यिक अभियान अक्षरयात्राको शतक शृङ्खलाका अवसरमा युवा साहित्यकार कपिल शर्मा ‘सञ्जोग’लाई अक्षरयात्रा प्रतिभा पुरस्कार प्रदान गरिएको छ । सञ्जोगसँगै अक्षरयात्राका परिकल्पनाकारका रुपमा प्रकट पगेनी शिव, दीपक समीप, लक्ष्मण थापा र कृष्ण उदासीलाई अक्षरयात्रा सम्मान प्रदान गरिएको थियो । त्यसै गरी हालसम्म अक्षरयात्रामा सबैभन्दा बढी सहभागी भएको भन्दै बलराम पूर्णविरामलाई विशेष कदरपत्र प्रदान गरिएको थियो ।kipal sarma‘जीवन र जगत्को यथार्थबोधका लागि अक्षरयात्रा’ भन्ने मूल उद्घोषसहित गजल सन्ध्या र नवनीत साहित्य सागरले हरेक महिनाको तेस्रो शनिबार सञ्चालन गर्दै आएको अक्षरयात्राको सो शृङ्खलामा प्रमुख अतिथि प्राज्ञ सरुभक्तले तत्स्थानीय रचना वाचन कार्यक्रम अक्षरयात्रा नेपाली साहित्यको विशिष्ट अभियान भएको बताउनुभयो । संरक्षण कविता आन्दोलनका संयोजकसमेत रहनुभएका सरुभक्तले पोखराले यस्ता अभियानप्रति गर्व गर्नुपर्ने जिकिर गर्दै अक्षरयात्राजस्ता अभियानले काम जति गरेको छ त्यति चर्चा हुन नसकेको बताउनुभयो ।
अक्षरयात्रामा नियमित सहभागी भई उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने एकजनालाई हरेक वर्ष प्रदान गरिने अक्षरयात्रा प्रतिभा पुरस्कारबाट यसअघि प्रकाश ज्ञवाली र रुपिन्द्र प्रभावी पुरस्कृत भएका थिए । पुरस्कार युवा साहित्यकारद्वय कृष्ण देवकोटा र गोविन्द गिरीले अक्षरयात्राको स्वर्ण शृङ्खलाका अवसरमा स्थापना गर्नुभएको हो । पर्वतको फलेबास–२, खानीगाउँमा जन्मिनुभएका पुरस्कृत प्रतिभा सञ्जोगले विगत एक दशकभन्दा लामो समयदेखि पोखरामा रहेर साहित्य साधनामा लागिरहनुभएको छ भने गजल सन्ध्याको अध्यक्ष हुँदा पनि अक्षरयात्रको विकास र निरन्तरताका लागि महत्वपूर्ण भूमिका निभाउनुभएको थियो । सञ्जोग हाल सम्मोहन साहित्यिक पत्रिकाका सम्पादक तथा युथ क्रियशन थिएटरका अध्यक्ष हुनुहुन्छ । पुरस्कृत प्रतिभा सञ्जोगको परिचय रुपिन्द्र प्रभावीले दिनुभएको थियो ।
गजल सन्ध्याका पूर्वअध्यक्ष तथा सल्लाहकार दीपक समीपको संयोजकत्वमा सल्लाहकार तथा पूर्व अध्यक्ष रुपिन्द्र प्रभावी र साहित्यकार कृष्ण उदासी सदस्य तथा गजल सन्ध्याका अध्यक्ष उदिपराज ढुङ्गाना र नवनीत साहित्य सागरका अध्यक्ष लक्ष्मण थापा पदेन सदस्य रहेको प्रतिभा छनोट समितिे सञ्जोगलाई पुरस्कारका लागि योग्य प्रतिभाका रुपमा गरेको सिफारिस गरेको थियो । कार्यक्रममा पुरस्कृत प्रतिभा सञ्जोगले आफूलाई पुरस्कारले साहित्यिक क्षेत्रमा थप केही गर्ने जाँगर थपेको बताउनुभयो ।
सन्ध्याका अध्यक्ष उदिपराज ढुङ्गाना र सागरका अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा भएको कार्यक्रममा गजल सन्ध्याका पूर्व सहसचिव विष्णुप्रसाद बाँस्तोलाले रु. १० हजार अक्षयकोषका लागि प्रदान गर्ने घोषणा गर्नुभयो । कार्यक्रममा विशेष अतिथि प्राज्ञ हरिदेवी कोइराला, सम्मानित प्रतिभाहरु प्रकट पगेनी ‘शिव’, दीपक समीप, लक्ष्मण थापा र कृष्ण उदासीलाई अक्षरयात्रा सम्मान प्रदान गरिने पनि मन्तव्य राख्नुभएको थियो । सो अवसरमा ५० भन्दा बढी अक्षरयात्रीहरुले रचना वाचन गरेका थिए । शतक शृङ्खलाका साथै वि. सं. २०६२ सालमा सुन्दरीडाँडाबाटै अक्षरयात्राको सुरुवात् भएको थियो भने स्वर्ण शृङ्खलाका अवसरमा अक्षरयात्राको घोषणापत्र पनि सोही स्थानबाट जारी गरिएको थियो ।

कमेन्टहरु
Loading...