पोखरा, १२ मंसिर । पोखराका पर्यटन व्यवसायी तथा उनीहरुका कर्मचारीहरुले हालै दुई महिने आधारभूत चिनिया भाषाको तालिम लिएका छन् । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन पश्चिमाञ्चल क्षेत्रीय समिति पोखराले आयोजना गरेको तालिममा ३५ जनाको सहभागिता थियो ।
पर्यटनका हिसावले पोखराको पर्यटनलाई सिजन र अफ सिजन भनेर चिनिएको भएपनि यो वर्षदेखि चिनिया लगायत आन्तरिक पर्यटकको आगमन अफसिजनमा पनि बढ्न थालेपछि व्यवसायीले ‘पोखरा सबै सिजनका लागि’ भन्ने नारा सहित दक्ष जनशक्ति उत्पादनको लागि भाषा तालिम सञ्चालन गरेको संयोजक कृष्णहरी सुवेदीले बताए ।
पोखरा आउने चिनिया पर्यटक बढे पनि उनीहरुलाई सेवा सुविधा दिन भाषाका कारण समस्या परेकोमा तालिम पछि भने सहज हुने समितिका पश्चिमाञ्चल अध्यक्ष गोविन्दराज पहारीले बताए । नेपाल पर्यटन वोर्डका सदस्य टिकाराम सापकोटाले पोखरा चिनिया पर्यटकका लागि आकर्षक गन्तव्य भए पनि भाषाको ज्ञान नहुदा व्यवसायी र पर्यटक दुबैले समस्या भोग्नु परेको बताए ।
गत वर्ष नेपालमा आएका ८५ हजार चिनिया पर्यटक मध्ये ५० प्रतिशत पोखरा भित्रिएका थिए । चिनिया पर्यटक खासगरी पदयात्रा तथा प्याराग्लाइडिङको लागि पोखरा आउने गरेका छन् । वितेको एक वर्ष पोखराको पर्यटन चिनिया पर्यटकले धानेको ब्यबशायीको अनुभब छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष सूर्यवहादुर भुजेलले पोखरामा रहेका करिव एक सय पर्यटकीय स्तरका रेष्टुराँ मध्ये १४ वटाले चिनिया खाना पस्कने गरेको जानकारी दिए । भाषाको समस्यालाई समाधान गर्न वर्ष भरि नै कुनै न कुनै हिसावले चिनिया भाषाको तालिम व्यवसायी तथा कर्मचारीले लिन आबश्यक पर्ने उनले औंल्याए ।
पोखरामा चार सय भन्दा बढी पर्यटकीय स्तरका होटल, एक सयको हाराहारीमा ट्राभल एजेन्सी तथा सयौं अन्य पर्यटकीय प्रतिष्ठानहरु रहेका छन् । ती सबैमा चिनिया भाषा सम्वन्धि दक्ष जनशक्ती नहुँदा व्यवसायलाई लानुपर्ने जति उचाईमा लान समस्या परेको स्वयं व्यवसायीले बताउने गरेका छन् ।
चिनको कुनमिनबाट आएकी युवती लोरिताले उनीहरुलाई तालिम दिएकी थिइन् । पोखराको ट्रयाङ्कुलिटी स्पाःका गणेश केसीले चिनिया भाषाको तालिम लिएपछि आफूमा चिनिया पर्यटकलाई स्वागत गर्न सक्छु भन्ने आत्मविश्वास बढेको बताए । यसैगरी पोखराको पिस प्लाजा होटलकी जमुना पराजुलीले चिनिया भाषा सम्वन्धी आधारभूत कुराहरु सिक्न पाउँदा आफ्नो व्यवसायमा सघाउ पुग्ने विश्वास व्यक्त गरिन् ।
चिनको जनसंख्या बढी रहेको र त्यहाँबाट हरेक वर्ष ५० करोड बढी चिनिया विदेशमा घुम्न जाने कारणले पनि सून्य दशमलव पाँच वा एक प्रतिशत पर्यटक नेपाल भित्र्याउन सक्ने हो भने नेपालले पर्यटनमा फड्को मार्ने व्यवसायीले बताएका छन् ।
पोखरामा पछिल्लो क्रममा चिनिया रेष्टुराँ समेत खुल्ने क्रम बढेपनि त्यहा पुग्ने चिनिया पर्यटकले भाषाको समस्या भोग्नु पर्ने अवस्था छ । व्यवसायी आफैं तालिममा सहभागि भएपछि केही हदसम्म भए पनि त्यस्तो समस्या हट्ने विश्वास लिइएको छ ।