अक्षरयात्राको शतक शृङ्खलामा सञ्जोगलाई प्रतिभा पुरस्कार दिइने

पोखरा, मंसिर ११ गते /पोखराबाट सञ्चालित साहित्यिक अभियान अक्षरयात्राले यसै हप्ता शतक शृङ्खला मनाउने भएको छ ।
‘जीवन र जगत्को यथार्थबोधका लागि अक्षरयात्रा’ भन्ने मूल उद्घोषसहित गजल सन्ध्या र नवनीत साहित्य सागरले हरेक महिनाको तेस्रो शनिबार सञ्चालन गर्दै आएको पर्यटन साहित्य यात्रामूलक कार्यक्रम अक्षरयात्राको शतक शृङ्खलाको अवसरमा आगामी मङ्सिर १५ गते शनिबार कास्कीको लेखनाथ नगरपालिकाको सुन्दरी डाँडामा एक विशेष कार्यक्रमका बीच यस वर्षको अक्षरयात्रा प्रतिभा पुरस्कार युवा साहित्यकार कपिल शर्मा ‘सञ्जोग’लाई प्रदान गरिने भएको छ । kipal sarmaअक्षरयात्रामा नियमित सहभागी भई उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने एकजनालाई हरेक वर्ष प्रदान गरिने सो पुरस्कारबाट यसअघि प्रकाश ज्ञवाली र रुपिन्द्र प्रभावी पुरस्कृत भएका थिए । पुरस्कार युवा साहित्यकारद्वय कृष्ण देवकोटा र गोविन्द गिरीले अक्षरयात्राको स्वर्ण शृङ्खलाका अवसरमा स्थापना गर्नुभएको हो ।
अक्षरयात्राको सुरुवात्कालीन समयदेखि नै नियमित सहभागी हुँदै आफ्नो प्रतिभालाई तिखार्न सफल भएको भन्दै सञ्जोगलाई सो पुरस्कार प्रदान गर्न लागिएको बताइएको छ । पर्वतको फलेबास–२, खानीगाउँमा जन्मिनुभएका सञ्जोगले विगत एक दशकभन्दा लामो समयदेखि पोखरामा रहेर साहित्य साधनामा लागिरहनुभएको छ भने गजल सन्ध्याको अध्यक्ष हुँदा पनि अक्षरयात्रको विकास र निरन्तरताका लागि महत्वपूर्ण भूमिका निभाउनुभएको थियो । सञ्जोग हाल सम्मोहन साहित्यिक पत्रिकाका सम्पादक तथा युथ क्रियशन थिएटरका अध्यक्ष हुनुहुन्छ ।
गजल सन्ध्याका पूर्वअध्यक्ष तथा सल्लाहकार दीपक समीपको संयोजकत्वमा सल्लाहकार तथा पूर्व अध्यक्ष रुपिन्द्र प्रभावी र साहित्यकार कृष्ण उदासी सदस्य तथा गजल सन्ध्याका अध्यक्ष उदिपराज ढुङ्गाना र नवनीत साहित्य सागरका अध्यक्ष लक्ष्मण थापा पदेन सदस्य रहेको प्रतिभा छनोट समितिले सञ्जोगलाई पुरस्कारका लागि योग्य प्रतिभाका रुपमा गरेको सिफारिसलाई आयोजक संस्थाहरुले अनुमोदन गरेका थिए ।
शतक शृङ्खलाकै अवसरमा अक्षरयात्राको परिकल्पनाकारका रुपमा साहित्यकार प्रकट पगेनी ‘शिव’, दीपक समीप, लक्ष्मण थापा र कृष्ण उदासीलाई अक्षरयात्रा सम्मान प्रदान गरिने पनि गजल सन्ध्याका अध्यक्ष उदिपराज ढुङ्गानाले जनाउनुभयो । त्यस्तै सुरुदेखि उनान्सयौं शृङ्खलासम्ममा सबैभन्दा बढी अक्षरयात्रामा सहभागी हुने एकजना अक्षरयात्रीलाई पनि विशेष कदरपत्रका साथ सम्मान गरिने उहाँले बताउनुभयो ।
वि. सं. २०६२ सालमा सुन्दरीडाँडाबाटै अक्षरयात्राको सुरुवात् भएको थियो भने स्वर्ण शृङ्खलाका अवसरमा अक्षरयात्राको घोषणापत्र पनि सोही स्थानबाट जारी गरिएको थियो । शतक शृङ्खलामा जानका लागि पोखराको चिप्लेढुङ्गाबाट सामूहिक रुपमा यात्रारम्भका लागि यातायातको व्यवस्था गरिएको सन्ध्याका अध्यक्ष उदिपराज ढुङ्गानाले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...