काभ्रे । जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको तुलनामा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर भएका छन् । काभ्रेपलाञ्चोकमा बुधबार ३१ सङ्क्रमित थपिए भने त्यसको दोब्बर अर्थात् ६२ जना सङ्क्रमणमुक्त भएका हुन् ।
तीमध्ये २६ महिला रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्ट जनाएको छ । मङ्गलबार ७१, सोमबार १६ र आइतबार २३ जना कोरोना सङ्क्रमणमुक्त भएका थिए ।
पोष्टका अनुसार बुधबार १७ महिलासहित ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । तीमध्ये बनेपाका १५, मण्डनदेउपुरका सात, धुलिखेलका सात र नमोबुद्ध नगरपालिकाका एक तथा बेथानचोक गाउँपालिकाका एक छन् ।
‘एकै दिन दोब्बर सङ्ख्यामा सङ्क्रमणमुक्त भएको यो पहिलोपटक हो’, पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले भने । उनका अनुसार जिल्लामा हालसम्म ५ सय १५ महिलासहित एक हजार ३ सय ४६ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
कूल सङ्क्रमितमध्ये ६३ प्रतिशत अर्थात् ८ सय ३५ सङ्क्रमणमुक्त भएका हुन् । हालसम्म कोरोना सङ्क्रमणबाट जिल्लामा आठ पुरुष र सात महिला गरी १५ जनाको मृत्यु भइसकेको छ ।
गत असार २ गते काभ्रेपलाञ्चोकमा पहिलो सङ्क्रमण देखिएको थियो । कोरोना सङ्क्रमितमध्ये ४० प्रतिशत अर्थात् ५ सय २६ बनेपा नगरपालिकाका छन् । तीमध्ये ३ सय ४ पुरुष र २ सय २२ महिला छन् ।
हालसम्म २ सय ३४ पुरुष र १ सय ४९ महिला गरी कूल ३ सय ८३ जना सङ्क्रमणमुक्त भएको बनेपा नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार अहिलेसम्म कोरोना सङ्क्रमणबाट चार जनाको मृत्यु भइसकेको छ ।
काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये चार गाउँपालिका तेमाल, महाभारत, खानीखोला र चौँरीदेउराली कोरोनामुक्त भएका छन् । कूल सङ्क्रमितमध्ये ६२ प्रतिशत पुरुष हुन् । हाल सक्रिय सङ्क्रमितमध्ये ९३ अस्पतालको आइसोलेसन र ४ सय ४ होम आइसोलेसनमा उपचाररत छन् ।
रासस