चेपाङ समुदायलाई दसैं मनाउनकै चिन्ता

लमजुङ । लोपोन्मुख चेपाङ समुदाय बडादसैं मनाउने चिन्तामा छ । बेसीसहर नगरपालिका–११ चिती बरबोटको चेपाङ समुदायलाई दसैं भित्रिसके पनि आम्दानीको कुनै स्रोत नभएकाले अर्थाभावमा दसैंका बेला खाने चामल समेत छैन । १० घर रहेको बरबोटका चेपाङलाई विगतमा वर्षेनी सहयोग आउने गरेको र त्यसकै भरमा दसैं मनाउँदै आए पनि यस वर्ष दसैंको चौथौ दिनसम्म पनि कहीँकतैबाट केही सहयोग नआउँदा चेपाङ समुदायलाई सताउन थालेको नेपाल चेपाङ सङ्घ लमजुङ शाखाका पूर्वअध्यक्ष अमृता चेपाङले बताए । उनले भने, ‘विगतमा जस्तो दसैं यस वर्ष कोभिड १९ का कारण नमनाए पनि खानाका लागि यहाँका अधिकांश चेपाङलाई दसैंमा चामलसमेत किन्ने पैसा छैन ।

‘दसैंमा मीठोमसिनो खाएर हर्ष तथा उमंगका साथ मनाउन आर्थिक अभावका कारण अरुको भर पर्नुपर्दा र सहयोग अहिलेसम्म नआउँदा बालबच्चालाई नयाँ कपडा लाउन र एक छाक खानलाई समेत समस्या भएको छ ।’ ५७ वर्षीय पूर्णबहादुर चेपाङले भने ।

उनीहरुलाई गरी खानलाई खुर्सानी लगाउनेसमेत आफ्नो जमिन छैन । गाउँमा रहेका अन्य समुदायको जमिनमा अधियाँ गरेर खेती गर्नुपर्छ । वर्षभरि गरिएको खेतीबाट उब्जेको अन्नबाली आधीआधी गर्दा २ महिनाबाहेक खान नपुग्ने उनको भनाइ छ ।

४७ वर्षीय तिलकबहादुर चेपाङले भने, ‘गरीबलाई के दसैं के चाडपर्व, सधैं एकनाश भएको छ । जब/जब चाडपर्वको बेला आउँछ अरुले नयाँ नयाँ लगाएको देख्दा हाम्रा छोराछोरीले हामीलाई पनि त्यस्तै कपडा ल्याइदिनुस् न बुबा भन्ने गर्छन् । त्यति बेला मलाई निकै नरमाइलो लाग्छ, अनि मन साह्रै रुन्छ ।’ बरबोटका चेपाङ समुदायका १० घर र दोर्दी गाउँपालिका ९ भीरकुनामा ४ घर गरी जिल्लामा १४ घरधुरी चेपाय छन् । चेपाङ समुदायले अन्य समुदायको खेतीपाती गर्दै जीविका चलाउँदै आएको छ । रासस

कमेन्टहरु
Loading...