काठमाडौं । मकवानपुरको थाहा नगरपालिका ९ र काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ को थानकोट जोड्ने साढे २२ किलोमिटर लामो गणेशमान मार्गको स्तरोन्नति कार्य सुरु भएको छ ।
चन्द्रागिरी नगरपालिका ४ र ७ मा हाल ४ किलोमिटर क्षेत्रमा चट्टान फोरी सडकलाई फराकिलो गर्ने काम भइरहेको छ । थानकोट–चित्लाङ–गणेशमान मार्ग सरोकार समितिका अध्यक्ष एवं वाग्मती प्रदेशसभा सदस्य रमा आलेमगरका अनुसार उक्त सडकमा ढल निर्माणका साथै ग्राभेल हाल्ने काम आगामी वर्षको वैशाखसम्म सम्पन्न हुनेछ ।
उक्त सडकको स्तरोन्नति गर्न संघीय सरकारले १३ करोड उपलब्ध गराएको छ ।
दोस्रो चरणमा उक्त सडकलाई कालोपत्र र ढलमा स्ल्याब निर्माण गर्ने कार्यका लागि वाग्मती प्रदेश सरकारले छुट्टै बजेट उपलब्ध गराउने मगरले बताइन् । चित्लाङदेखि कुन्छालसम्म जोड्ने करीब १० किलोमिटर सडकलाई पनि फराकिलो बनाउँदै कालोपत्र गर्ने काम पनि धामाधम भइरहेको छ । केही साताभित्रै कुन्छालदेखि चित्लाङ सम्मको सडकखण्डमा साना सवारीसाधन सञ्चालनमा ल्याउने तयारी भइरहेको मगरले उल्लेख गरिन् ।
चित्लाङ–थानकोट सडकको स्तरोन्नति गरिएपछि मकवानपुरको हेटौंडा र दामन, पालुङबाट मौसमी तरकारी, फलफूल, खाद्यान्न, इन्धन र औषधिलगायत सामग्री ढुवानी गर्न सहज हुने थाहानगरपालिकाका नगरप्रमुख लवशेर विष्टले बताएका छन् । थानकोट–चित्लाङ सडकखण्डमा २ दशकअघि कच्ची ट्र्याक खोलेर हल्का सवारीसाधन सञ्चालनमा ल्याइएको थियो । रासस