बलात्कार विरुद्ध कडा कानुन ल्याइने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हुने जुनसुकै प्रकारका हत्या, हिंसा, अतिवाद र सामाजिक अपराध नियन्त्रणमा सरकार दृढ–संकल्पित रहेको बताएका छन् । प्रहरी प्रधान कार्यालयमा आज आयोजित ६५ औं प्रहरी दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता अवाञ्छित क्रियाकलाप विरुद्ध सक्रियता र निर्भिकताका साथ खटिन सुरक्षाकर्मीलाई आग्रह गरेका छन् । उनले यस्ता गतिविधितर्फ नागरिक समाज सचेत र सजक रहनु उत्तिकै जरुरी रहेकोमा जोड दिएका छन् ।

प्रधानमन्त्री ओलीले एसिड आक्रमणका विरुद्ध नयाँ कानुन ल्याएर कडा कदम चाल्ने सरकारले अठोट लिएको जानकारी गराउँदै बलात्कार विरुद्ध पनि त्यस्तै कडा कानुन ल्याइने बताए । ‘बलात्कारका घटना निन्दनीय र मानवता विरोधी अपराध रहेकाले त्यस्ता गतिविधि नियन्त्रणमा सरकार अझ कडा कानुन ल्याउने तयारीमा छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘बलात्कार जस्ता घटना मिलापत्रका नाममा छोपछाप गर्ने काम सह्य हुन सक्तैन ।’ उनले यस्ता घटनामा भनसुन र सामाजिक दबाबबाट टाढा रहन नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । उनले कानुन कार्यान्वयन गर्दै अपराधविहीन समाज निर्माण गर्न र दिगो शान्तिमा योगदान पु¥याउनेतर्फ केन्द्रित हुन प्रहरीलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले विश्वसामु अदृश्य शत्रुको रुपमा देखा परेको कोभिड–१९ महामारीको चुनौती व्याप्त रहेको र नेपालमा गर्न खोज्दाखोज्दै पनि नियन्त्रणमा आउन नसकेको बताए । संक्रमणको विषम अवस्थामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीबाट प्रदर्शन भएको कर्तव्य परायणताको उनले खुलेर प्रशंसा गरेका छन् । यस्तो अवस्थामा आत्मानुशासन र संयमित रहनुपर्ने कर्तव्य नभुल्न आम समुदायसँग उनले अनुरोध गरे । प्रधानमन्त्री ओलीले भने, ‘संक्रमणको महामारीबाट कोही पनि भयभीत हुने होइन, उच्च सतर्कता कायम राख्नुपर्छ, यस्ता घातक रोगले कुनै पनि बेला कसैलाई पनि आक्रमण र नोक्सान गर्नसक्छ भन्ने बारेमा सर्तक रहनुपर्छ ।’ उनले महामारीको घडीमा संक्रमण फैलिन निरोधात्मक उपाय अवलम्बन गर्नुको विकल्प नभएकोसमेत बताए । उनले जोखिममा रहेर कर्तव्यपालनामा खटिँदा संक्रमित हुन पुगेका सबैको स्वास्थ्यलाभको कामना गरेका छन् ।

मुलुकको समृद्धि, समुन्नती र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनु जरुरी रहेकोतर्फ प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीको ध्यानाकर्षण गराए । उनले त्यसैको जगमा बसेर कानुनी शासन, मानवअधिकार र सुशासन तथा विकासका आधार निर्माण हुने उल्लेख गरेका छन् । नेपाल प्रहरीलाई मुलुकको आन्तरिक सुरक्षाको मियोको संज्ञा दिँदै प्रधानमन्त्री ओलीले कर्तव्यवोधले मात्रै मुलुकको समृद्धि, कानुनी शासन र सुशासनको पूर्ण अनुभूति गर्न सक्ने विश्वास व्यक्त गरेका छन् ।

उनले अपराधले भौगोलिक सीमाको पर्खाललाई तोडेको, अपराधको सञ्जाल अन्तरदेशीय विस्तार भएको र सञ्जालमा आधारित अपराधले विश्वभर आकार ग्रहण गरिरहेको सन्दर्भमा चनाखो हुन प्रहरीलाई आग्रह गरे । विज्ञान, सूचना र प्रविधिको विकासले एकातर्फ मानिसको जीवनशैलीलाई सहज बनाएको तर अर्काेतर्फ यसको दुरुपयोगले दुखदायी घटना बेहोर्नु परिरहेको उनले बताए ।

प्रधानमन्त्री ओलीले प्रविधिमा दक्ष तर सामाजिक र राष्ट्रिय जिम्मेवारीप्रति असंवेदनशिल समूहले स्वार्थ प्रेरित रुपमा फैलाउने अफवाह चुनौतीको रुपमा देखा परेको जिकिर गरेका छन् । उनले त्यस्ता गतिविधि विधिसम्मत रुपबाट कसरी निस्तेज गर्न सकिन्छ, त्यसतर्फ ध्यान दिन सम्बद्ध संस्था र व्यक्तिलाई सचेत गराए ।

भ्रष्टाचार विरुद्ध शून्य सहनशिलताको नीति सरकारको रहेको दोहो¥याउँदै प्रधानमन्त्री ओलीले त्यसलाई पूर्ण कार्यान्वयनमा लैजान प्रहरीको महत्वपूर्ण भूमिका हुने बताए । उनले लोभलाभभन्दा माथि उठेर जनतालाई न्याय दिलाउनतर्फ लाग्न प्रहरीसँग आग्रह गरेका छन् । उनले देश र जनतालाई गलत सूचना दिएर गलत बाटोमा लैजाने चेष्टा भइरहेकोतर्फ प्रहरीको ध्यानाकर्षण गराए ।

प्रहरी माथिको विश्वास कमजोर हुँदा सम्बन्ध कमजोर हुँदै जाने र त्यसले कालान्तरमा शान्ति सुरक्षामा नै असर पु¥याउने भएकाले जनतासँगको सम्बन्ध प्रगाढ बनाउन सुझाव दिए । उनले प्रहरीको संस्थागत हितमा सरकार सदैव साथमा रहेको जानकारी गराए । प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता, सार्वभौमसत्ता राष्ट्रिय अखण्डताको जगेर्ना गर्दै राष्ट्रभाव अभिवृद्धि गर्ने मुलुकको नीति विरुद्ध दिग्भ्रमित पार्ने कुचेष्टा भइरहेकोतर्फ सचेत हुन आम नागरिकलाई अनुरोध गरेका छन् ।

उक्त समारोहमा गृहमन्त्री रामबहादुर थापाले कोभिड–१९ को महामारीका कारण नयाँ सुरक्षा चुनौती थपिएको विषम परिस्थितिमा निर्भिकताका साथ जिम्मेवारी निर्वाह गरेकोमा नेपाल प्रहरीको प्रशंसा गरेका छन् । गृहमन्त्री थापाले अपराधको प्रवृत्ति विष्लेषण गरेर रणनीतिक योजनाका साथ अघि बढ्न प्रहरीलाई निर्देशनसमेत दिए ।

संगठनको सुदृढीकरणमा मन्त्रालयको सकारात्मक सहयोग रहने उनले विश्वास दिलाएका छन् । प्रहरीको मनोबल उच्च बनाउन निर्देशन दिँदै गृहमन्त्री थापाले समाज र प्रहरी एक अर्काबाट भिन्न हुन नसक्ने भएकाले सोचमा परिवर्तनको खाँचो औंल्याए । उनले संघीय संरचनामा गएपछि अग्रगामी विकास हुने विश्वास व्यक्त गरेका छन् ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीले गरेका काम कारवाहीका बारेमा जानकारी गराउँदै १ वर्षमा ४० हजार मुद्दा अनुसन्धान गरेको जानकारी दिएका छन् । उनले पद्धतिको विकास गर्ने चरणमा प्रहरी संगठन रहेकोसमेत बताए ।

प्रहरी महानिरीक्षक थापाले पछिल्लो समयमा गरिएको एक अनुसन्धानले सरुवा, बढुवा र मिसनमा खटिने प्रहरी चयनको मापदण्ड पारदर्शी गर्नुपर्ने आवश्यकता औंल्याएको बताए । उनले प्रहरीले जागिर छाड्नुपर्ने कारणको बारेमा उक्त अनुसन्धानले केही तथ्यहरु औंल्याएको बताएका छन् । समारोहमा प्रधानमन्त्री ओली र गृहमन्त्री थापाले अमर प्रहरी स्मारकमा पुष्प अर्पण गरेका थिए ।

सोही क्रममा सेवा निवृत्त प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले अमर प्रहरीका परिवारलाई छात्रवृत्ति प्रदानमा सहयोग पु¥याउने उद्देश्यले ११ लाखको ‘अच्युत– मीना अक्षयकोष’ स्थापना गरी प्रहरी महानिरीक्षकलाई नगद हस्तान्तरण गरेका छन् । समारोहमा निवृत्त प्रहरी उपरीक्षक तुलाबहादुर केसीलाई लाईफ टाईम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । रासस

कमेन्टहरु
Loading...