सुरक्षा पालुवा सहकारीको सप्ताहव्यापी साधारणसभा सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ कालिकास्थानस्थित सुरक्षा पालुवा बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो १४ औं वार्षिक साधारणसभा सप्ताहाव्यापी रुपमा आज सम्पन्न गरेको छ । कोरोना महामारीको जोखिमलाई दृष्टिगत गर्दै सहकारीले असोज २४ गते औपचारिक शुभारम्भ गरेको साधारणसभा आज सम्पन्न गरेको हो ।

साधारणसभाको समापन समारोहमा कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले सहकारीको एकिकरण गर्दै जाने सरकारको नीति रहेको र यो कार्यान्वयनमा आउने बताउँदै त्यसका लागि सहकारीहरू तयार हुनुपर्ने बताएका छन् ।

एउटै भूगोलभित्र १ व्यक्ति १ सहकारीमा मात्र आवद्ध हुने व्यवस्था सहितको कानून कार्यान्वयनमा आउने बताउँदै उनले व्यक्ति व्यक्तिले पनि आफू आवद्ध सहकारीको एकीकरणका लागि पहल गर्नुपर्ने आवश्यकता औंल्याए । नीति, विधि र प्रविधिलाईसंगै अघि बढाउँदै उत्पादनमा जोडिने गरी सहकारी क्रियाशील बन्नुपर्नेमा उनले जोड दिए ।

सहकारीका अध्यक्ष टुल्कनाथ आचार्यले कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा सजगता लगायतका कुरालाई दृष्टिगत गर्दै साधारसभाका कार्यक्रम सप्ताहव्यापी रुपमा सञ्चालन गरिएको जानकारी दिएका छन् ।

पोखरा महानगरपालिका वडा नं ३३ का वडा सदस्य दीपकराज लामिछानेले १ सहकारी १ उत्पादनको नीतिलाई कार्यावयननमा ल्याउनुपर्ने बताउँदै वडा भित्रका सहकारीले एकले अर्कोलाई सहयोग एवम् सहकार्य गर्नुपर्नेमा जोड दिए ।

पोखरा महानगरपालिका सहकारी समितिका दर्ता अधिकारी अनिल कार्कीले सुरक्षा पालुवा बहुउद्देश्यीय सहकारीको व्यवस्थापकीय पक्षको प्रशंसा गर्दै आगामी दिनमा उत्पादनमुलक क्षेत्रमा जोडिने विश्वास व्यक्त गरे ।

संस्थाका सह सचिव सतिस लामिछानेले सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षा उप समितिका संयोजक निर्मल आचार्यले स्वागत गरे । २ हजार १ सय ९ जना सेयर सदस्य रहेको सहकारीले ६५ करोड ३७ लाख ५५ हजार रुपैयाँको कारोबार गरेको छ । संस्थाले कालिकास्थानस्थित प्रधान कार्यालय, लामगादी, पुँडीटार, न्यूरोड, भण्डारढिक र पुलचोकमा सेवा केन्द्रहरूबाट सेवा प्रवाह गर्दै आएको छ ।

कमेन्टहरु
Loading...