लमजुङ । जिल्लाका ३ हजारभन्दा बढी महिलाले सुरक्षित प्रसुती सेवा लिएका छन् । बेसीसहर नगरपालिकास्थित जिल्ला सामुदायिक अस्पतालमा आर्थिक वर्ष २०७४/२०७५ देखि २०७६/२०७७ सम्म ३ हजार ४ सय ५६ जनाले सो सेवा लिएका हुन् ।
यीमध्ये सामान्य प्रसुती सेवा २ हजार ७ सय ४७, शल्यक्रिया गर्नुपर्ने ४ सय ६१ र जटिल किसिमको प्रसुती सेवा २ सय ४८ जनाले लिएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताएका छन् ।
उनका अनुसार अस्पतालबाट आर्थिक वर्ष २०७६/२०७७ मा १ हजार १ सय २३ जनाले प्रसुती सेवा लिएकामा यीमध्ये ८ सय ६६ सामान्य, १ सय ६८ शल्यक्रिया र ८९ जनाले जटिल किसिमको प्रसुती सेवा लिएका थिए ।
आर्थिक वर्ष २०७५/२०७६ मा अस्पतालबाट प्रसुती सेवा लिनेको संख्या १ हजार ११ रहेकामा ८ सय २९ सामान्य, १ सय २४ शल्यक्रिया र ५८ जनाले जटिल किसिमको प्रसुती सेवा लिएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार आर्थिक वर्ष २०७४/२०७५ मा १ हजार ३ सय २२ जनाले प्रसुती सेवा लिएकामा १ हजार ५२ सामान्य, १ सय ६९ शल्यक्रिया र १ सय १ जनाले जटिल प्रसुती सेवा लिएको अस्पतालको तथ्यांकमा उल्लेख छ । विंस २०५८ देखि अस्पतालले सुरक्षित प्रसुतीसेवा प्रवाह गर्दै आएको छ ।
प्रसुती गृहमा १५ शैया छ । अस्पतालमा स्त्रीरोग विशेषज्ञ सेवाका साथै दक्ष चिकित्सकद्वारा भरपर्दो र सुरक्षित प्रसुती सेवा प्रवाह भइरहेको अस्पतालका प्रमुख श्रेष्ठको जिकिर थियो । यस अस्पतालमा ग्रामिण भेगका महिलासमेत सुरक्षित प्रसुती सेवाका लागि आउन थालेको अस्पतालले जनाएको छ । रासस