तनहुँ कारागारमा रहेका कैदीबन्दीको सजाय छुट

तनहुँ । तनहुँ कारागारमा रहेका कैदीबन्दीमध्ये २७ जना कैदीबन्दीले कैद सजायमा छुट पाएर घर गएका छन् । सर्वोच्च अदालतले कोभिड–१९ महामारीमा उच्च जोखिमका कैदीबन्दीको सजाय छुट दिने व्यवस्थाअनुरुप ती कैद मिनाहा गरिएको कारागार प्रशासनले जनाएको छ ।

अदालतबाट एक वर्षभन्दा कम सजाय तोकिएका कैदीबन्दीले दिनको ३ सयका दरले कैद भुक्तानबापतको रकम तिरेर छुट पाउने व्यवस्था रहेकाले उनीहरुको कैद मिनाहा भएको तनहुँ कारागारका निमित्त जेलर नारायणप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

गत चैत ११ गतेदेखि असोज २६ गते आइतबारसम्ममा २७ जनाको कैद मिनाहा भएको हो । उनले भने, ‘कानूनी व्यवसायीको सहायतामा अदालतमा निवेदन दिएपछि प्राथमिकताको आधारमा जोखिममा रहेकालाई छुट दिने कानूनी व्यवस्था रहेको छ ।’

कोभिड–१९ का कारण नेपाल सरकारले सुरक्षित हुन आह्वान गरेको बन्दाबन्दीदेखि हालसम्म ती कैदीबन्दीले छुट पाएका हुन् । कैद मिनाहामा वृद्धा, अशक्त, रोगीले प्राथमिकता पाउने नियम रहेको कारागारले जनाएको छ ।

यसरी छुट पाउनेमा अधिकांश सवारी ज्यान मुद्दाका रहेका छन् भने केही काठ मुद्दा, चोरी मुद्दा र लागुऔषध र ठगी मुद्दाका रहेका छन् । पच्चीस क्षमताको उक्त कारागारमा सोमबार आजसम्म कैदी १ सय ४९ र थुनुवा ६५ गरी जना कूल २ सय १४ जना कैदीबन्दी रहेका छन् ।

धेरै कैदीबन्दी भएकाले ८० जनाक्षमता रहेको महिला बन्दीगृहमा पुरुष राखिएको र महिलालाई पोखरा पठाउने गरिएको कारागारले जनाएको छ । रासस

कमेन्टहरु
Loading...