दिपक के श्रेष्ठ
असोज २ गते राति नेपाली रेल जनकपुर स्टेसन आइपुग्यो । सरकार र रेल विभागले जोडतोडकासाथ चर्चा चलाए । मिडियाहरुले प्रचारप्रसार गरे । भोलीपल्ट रेल फर्काएर धुनषको इनर्वा पु¥याइयो । पहिलो चरणको सफलताको समाचारपछि अहिले रेललाई पहेंलो त्रिपालले छोपेर राखिएको छ । अझ यसो पनि भन्न सकिन्छ, १ अर्ब रुपैयाँ अहिले त्यही त्रिपालको सहारामा सुरक्षित राख्ने प्रयास भएको छ ।
यसबीच रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराइले १ सय २९ पदका लागि आवेदन मागेका छन् । उक्त पदमा करिब ३२ हजार जनाको निवेदन परेको छ । महाप्रबन्धक भट्टराइले प्रतिष्पर्धा स्वच्छ हुने भन्दै कसैको सोर्स, फोर्स नचल्ने भनेका छन् । अर्थात, बाह्य आवरणमा योग्यता पुगेका आवेदकहरुले मनको लड्डु घ्युसँग खान भ्याएका छन् ।
महाप्रबन्धक भट्टराई नेकपा भन्दा पनि प्रधानमन्त्री केपी शर्माका अनन्य भक्त हुन् । सरकारको कुनै पनि काममा समर्थन गर्नु मात्र होइन, सकेको बचाउ गर्नु र वाक्युद्धमा उत्रनु उनको जागिर नै हो । यस्तै, रमाइलोबीच उनको ट्विटरमा अनन्त कोइरालाले ‘रेलमा कोइला भर्ने काम मिलाइदिनोस् है मलाई, देशका लागि केही गर्नुपरो’ लेखे । यसको जवाफमा भट्टराइले ‘कोइला भर्न पनि नियत सही हुनुपर्छ । नियत खराब भएकालाई राख्न मिल्दैन । अरु नै काम खोज्नुस् । कोइला भर्ने रहर भए भारतको कोइलाखानी जाँदा हुन्छ । कोइला रेल …….. ’ लेखेका छन् ।
पछिल्लो समय सरकारको काम गराइको कडा विरोधी देखिएका सूर्यराज आचार्यलाई समेत उनले मुखभरीको जवाफ दिएका छन् । आचार्यले रेल प्रविधि र क्षमताबारे उठाएको सवालमा भट्टराइले छेउ न टुप्पोको जवाफ फर्काएका छन् ।
रेल आएर हल्ला मचाएलगत्तै यतिबेला सरकार र रेल्वे विभागको आलोचना भएको छ । तत्कालको अवस्थामा रेल सञ्चालन हुन नसक्ने भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले जानकारी गराउँदा पनि रेल भित्र्याएरै छाडियो । त्यसपछि रेल्वे र सरकारको आलोचनाविरुद्ध महाप्रबन्धक भट्टराई डटेर लागेका छन् । तिहारपछि रेल गुडाएरै छाड्ने उनको दाबी छ ।