बाग्लुङ । जिल्ला प्रहरी कार्यालय बाग्लुङले बालिका अपहरण गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ अपहरण गरेको आरोपमा प्रहरीले काठेखोला गाउँपालिका ६ का २४ वर्षीय सुन्दर विक तथा १९ वर्षीय प्रेम परियारलाई पक्राउ गरेको हो ।
उनीहरुले सोही स्थानकी बालिकालाई मंगलबार विद्यालय जाने बेलामा जबरजस्ती मोटरसाइकलमा राखेर अपहरण गरेका थिए ।
बालिकालाई जंगल छेउमा जबरजस्ती मोटरसाइकलमा राखिरहेको देखेपछि स्थानीयले उद्धार गरेका थिए । उनी एक विद्यालयमा वैकल्पिक सिकाईका लागि गइरहेकी थिइन् । बालिका हाल परिवारको संरक्षणमा रहेकी छिन् ।
पक्राउ परेका दुवै जनालाई अपहरण तथा शरीर बन्धक मुद्धामा अनुसन्धानका लागि जिल्ला अदालत बाग्लुङबाट ७ दिनका म्याद थप गरिएको बताइएको छ ।