आकस्मिक र प्रसूतिबाहेक सम्पूर्ण सेवा बन्द

सिन्धुली । सिन्धुली अस्पतालले प्रवाह गर्ने केही सेवा बन्द गरेको छ । अस्पतालमा कार्यरत केही कर्मचारीमा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि सेवा बन्द गराएको हो । सिन्धुली अस्पताल प्रशासनलेसूचना जारी गर्दै अस्पतालमा उपचारका क्रममा सेवाग्राहीलाई समेत कोरोना संक्रमण हुनसक्ने भएकाले आपत्कालीन उपचारबाहेकका अरु सेवा बन्द गरेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले जिल्लामा कोरोना भाइरस संक्रमित बढ्दै गएको र यसबाट अस्पतालका कर्मचारी पनि संक्रमित भएकाले अर्को सूचना जारी नहुञ्जेलसम्म आजदेखि अस्पतालको आकस्मिक र प्रसूतिबाहेक सम्पूर्ण सेवा बन्द गरिएको बताएका छन् । उनले भने, ‘कोभिड–१९ को जाँच तथा स्वाब संकलनमा खटिएका कर्मचारीमा कोभिड पोजेटिभ देखाएको छ । यस अवस्थामा पनि सेवा प्रवाह गर्दा कोरोना संक्रमण फैलनसक्ने भएकाले केही दिन ओपिडी सेवा बन्द गराएका हौं ।’

हालसम्म सिन्धुली अस्पतालमा कार्यरत ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७ जना निको भइसकेको र २ जना आइसोलेसनमै रहेको पोखरेलले जानकारी दिएका छन् । मंगलबार जिल्लामा सबैभन्दा बढी ९ महिला र १८ पुरुष गरी २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

जिल्लामा हालसम्म १ सय ४ पुरुष र २९ महिला गरी १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । १९ महिला र ३३ पुरुष गरी ५२ आइसोलेसनमा छन् । ७७ जना कोरोना निको भएर घर फर्किएका छन् । अब ४२ जनाको पिसिआरको रिर्पोट आउन बाँकी छ । जिल्लामा केही दिनयता लगातार कोरोना भाइरस संक्रमितको संख्या उकालो लागिरहेको छ ।

यस्तै बन्दाबन्दी सुरु भएदेखि हालसम्म विदेशबाट १ हजार ४ सय ८४ जना जिल्लामा आएका छन् । भारतबाट १ सय महिला र ६ सय ६३ पुरुष गरी ७ सय ६३ जना सिन्धुलीमा आएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत उपेन्द्र न्यौपानेले जानकारी दिएका छन् । अन्य मुलुकबाट १ सय ५३ महिला र ६ सय ३२ पुरुष गरी ६ सय ८५ जना जिल्लामा आएको जानकारी दिएका छन् ।

विदेशबाट आएकालाई कमलामाई नगरपालिका–६ शिवनगरमा रहेको क्वारेन्टिनमा राखिने र उनीहरुको पिसिआर जाँच गरेपश्चात नेगेटिभ रिर्पोट आएकालाई १४ दिन होमक्वारेन्टिनमा बस्ने शर्तसहित घर पठाउने गरिएको जानकारी दिएका छन् । यस्तै जिल्लाका विभिन्न पालिका तथा जनप्रतिनिधिको सम्पर्कमा विदेशबाट आएका व्यक्तिलाई पनि सम्बन्धित पालिकाले पनि क्वारेन्टिनमा राख्ने गरेको उनले जानकारी दिएका छन् ।

यता कोरोना संक्रमण बढेपछि मालपोत कार्यालय सिन्धुली बन्द भएको छ । कार्यालयमा काम गर्ने कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अनिश्चितरूपमा कार्यालय बन्द गरिएको छ । कार्यालयले मंगलबार १ सूचना जारी गर्दै अर्को सूचना जारी नहँुदासम्म कार्यालय बन्द रहने जनाएकोे छ । जिल्लामा रहेका वित्तीय संस्थामा सिद्धार्थ बैंक, एनसीसी बैंक, मेगा बैंक पनि बन्द भएका छन् । रासस

कमेन्टहरु
Loading...