एजेन्सी । कोरोना भाइरसबाट संक्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट निवास फर्किएका छन् । उनलाई कोरोनाभाइरसको संक्रमण भएको पुष्टि गत शुक्रबार गरिएको थियो । त्यसपछि लगत्तै उनी सैनिक अस्पतालमा भर्ना भएका थिए । उनी अस्पतालबाट निवास फर्किएपनि उनको उपचार भने निवासबाटै जारी रहने अधिकारीहरूले जनाएका छन् । आफ्नो स्वास्थ्य अवस्थामा धेरै सुधार आएको ७४ वर्षीय ट्रम्पले बताएका छन् । उनले चाडै नै आफू सार्वजनिक रुपमा निर्वाचनको काममा लाग्ने पनि जानकारी दिएका छन् ।
अमेरिकामा आगामी नोभेम्बर २९ तारिखमा राष्ट्रपतिय निर्वाचन हुन लागेको छ भने ट्रम्प पनि प्रतिश्पर्धामा छन् । अस्पतालबाट ह्वाइट हाउस उनी छोटो हेलिकोप्टरमार्फत् जानुभएको हो । उनी अस्पताल जादाँ पनि हेलिकोप्टरमै गएका थिए । ट्रम्पको स्वास्थ्यमा सुधार भइरहेको तर पूर्ण रूपमा ठीक भने नभइसकेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उनीहरुका अनुसार ट्रम्पको अवस्था निवासमा फर्कन मिल्ने खालको रहेको र निवासमा रहँदा पनि उहाँलाई २४ नै घन्टा उत्कृष्ट चिकित्सकहरूको निगरानीमा रहने व्यवस्था गरिएको छ ।
ह्वाइट हाउस पुगेपछि उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘मिथ्या समाचारले मिथ्या चुनावी सर्वेक्षण मात्र देखाइरहेका छन् ।’ उनले कारोनाबाट डराउनु पर्ने आवश्यकता नरहेकोमा फेरी पनि जोड दिएका छन् । उनले यसअघि पनि कोरोनालाई सामान्य रुपमा लिन आह्वान गर्दै आएका थिए ।
उनलाई शुक्रबार राति वाल्टर रिड नेसनल सैनिक अस्पताल लगिएको थियो । अस्पतालमा उनलाई थेरापीलगायतका उपचारका उपायहरु अपनाइएको छ । उनी बिहीबार मध्यान्ह एउटा चुनावी कार्यक्रममा सहभागी भएर फर्केपछि संक्रमित भएको बताइएको छ । उनीसँगै उनकी पत्नी मेलानिया पनि संक्रमित भएकी छिन् । राष्ट्रपति ट्रम्पले आफ्नी श्रीमतीको पनि अवस्था सामान्य नै रहेको जानकारी दिएका छन् ।
त्यसैगरी ह्वाइट हाउसका अन्य कम्तीमा १२ जना कर्मचारी तथा सहयोगीहरुलाई पनि संक्रमण देखिएको जनाइएको छ । विश्वमै सवैभन्दा धेरै मानिसहरू कोरोनाभाइरसबाट संक्रमित रहेको मुलुक अमेरिकामा अहिलेसम्म २ लाख १५ हजारभन्दा बढीको कोरोनाका कारण मृत्यु भएको छ । अमेरिकामा अहिलेसम्म ७६ लाख ७९ हजार ६ सय ४४ भन्दा बढी मासिन कोरोना भाइरसबाट संक्रमित भएका छन् । रासस