बाग्लुङका पहिरो पीडितलाई गण्डकी प्रदेश सरकारद्वारा सहयोग

बाग्लुङ । बाग्लुङको ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाका पहिरा पीडितलाई गण्डकी प्रदेश सरकारले राहत रकम उपलब्ध गराएको छ ।

ढोरपाटनमा गत भदौ १७ गतेको बाढीपहिरोमा परी ज्यान गुमाएका २२ परिवार र बेपत्ता रहेका १५ परिवार गरि ३७ जनाको परिवारलाई प्रति मृतक/वेपत्ता ५० हजारका दरले गण्डकी प्रदेश सरकारले राहत रकम प्रदान गरेको हो । त्यस्तै गत असार र साउनमा आएका पहिरोमा परी मृत्यु भएका निसीखोला र तमान खोला गाउँपालिकाका ५ परिवारका लागि पनि राहत रकम उपलब्ध गराइएको छ ।

गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले सोमबार पहिरो प्रभावित क्षेत्रमा पुगेर राहत रकम प्रदान गरेका हुन् । जिल्लाको पश्चिमका ४२ परिवारका लागि प्रदेश सरकारले २१ लाख उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिएका छन् । ढोरपाटनको बोबाङमा पहिरोसँगै आएको बाढीका कारण घरगोठ पुरिँदा बेपत्ता भएका मध्ये २२ जनाको शव फेला परेको थियो भने १५ जना अझै बेपत्ता छन् ।

राहत रकम प्रदान गर्दै मन्त्री चुमानले विपद्को सामना गर्न सबै १ भएर लाग्नुपर्ने बताए । ढोरपाटनले मृतक र बेपत्ताको तथ्यांक समयमा उपलब्ध गराउन नसकेका कारण पीडितलाई राहत वितरणमा ढिलाई भएको थियो ।

ढोरपाटनमा पुनस्थापनाको लागि प्रदेश सरकारले आवश्यक काम थालिसकेको जनाउँदै उनले स्थानीयसँग मिलेर बस्ति बसाउने काममा लाग्ने बताए । ढोरपाटनमा बाढीपहिरोमा १ सय ३० घर विस्थापित भएका छन् ।

पहिरो पीडित बालकलाई सहयोग

गत भदौ २९ गतेको पहिरोले घर पुरिएर आफन्तसँग बस्दै आएका जैमिनी नगरपालिका १ कुश्मीशेरा टुनिबोटका १ बालकलाई दक्षिण कोरियामा रहेका युवाले सहयोग गरेका छन् । पहिरोले घर पुरिएपछि आमासँगै मामा घरमा बस्दै आएका बिस्मात क्षेत्रीलाई ती युवाल पढाइ खर्च उपलब्ध गराएका हुन् ।

पहिरो पीडितका लागि दक्षिण कोरियामा संकलन गरिएको राहत रकमबाट १५ हजार पीडित बालकको पठनपाठनमा सहयोग पु¥याउने गरी पठाइएको अभियान्ता सन्तोष पौडेलले जानकारी दिएका छन् ।

पहिरोले घरगोठ पुरिएपछि उनी बेसहारा बनेका छन् । अन्यत्र घर बनाउने जग्गासमेत नरहेकाले क्षेत्री परिवार समस्यामा परेको छ । उनका हजुरवुवा र काकाको घरसमेत पहिरोले पुरेको छ । क्षेत्रीले कक्षा ११ मा पढ्छन् ।

रोजगारीको सिलसिलामा कोरियामा रहेका युवाले पहिरो पीडितहरुका लागि राहत रकम पठाएका थिए । उनीहरुले पठाएको २ लाख १३ हजार रुपैयाँमध्ये मृत्यु भएकाका २ परिवारको लागि ६० हजार र घरगोठ पुरिएर विस्थापित भएका ७ परिवारलाई २३ हजार रुपैयाँका दरले राहत रकम उपलव्ध गराईएको छ । राहत रकम वितरण गर्दै जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले वैदेशिक रोजगारीमा रहेका युवाहरुले देखाएको मातृ ममता प्रशंसनीय रहेको बताए । दक्षिण कोरियामा सोही गाउँबाट रोजगारीका लागि पुगेका सन्तोष पौडेल, दयाराम पौडेल र जीवन चपागाईले राहत संकलनको अगुवाइ गरेका थिए ।

राप्रपा अध्यक्षमा खड्का

राष्ट्रिय प्रजातन्त्र पार्टीको बागलुङ जिल्ला अध्यक्षमा सुरेन्द्र खड्का चयन भएका छन् । राप्रपा र राप्रपा संयुक्तको एकीकरण समायोजन बैठकले उनलाई जिल्ला अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । सोमबार सम्पन्न एकीकरण बैठकले दुवै तर्फका पदाधिकारी मध्येबाट समायोजन गराएको हो । सदस्यमा भने दुवै पार्टीका जिल्ला सदस्यहरु यथावत् रहने व्यवस्था निर्णय गरेका छ । एकीकरण बैठकले सह अध्यक्षमा शैलेन्द्र कुमार श्रेष्ठलाइ तोकेको छ । यस अघि राप्रपाको अध्यक्ष खड्का र राप्रपा संयुक्तको अध्यक्ष श्रेष्ठ थिए ।

बैठकले उपाध्यक्षमा मनबहादुर घर्ती र नबिनचन्द्र सर्बुजा तथा सचिवमा बिष्णुप्रसाद सापकोटालाई चयन गरेको छ । सहसचिवमा पार्वती शर्मा र कोषाध्यक्षमा जयलाल सापकोटा रहेका छन् । केही समय अघि केन्द्र देखि जिल्ला सम्म पार्टी एकीकरण गर्ने घोषणा भएको थियो ।

पार्टीलाई १ बनाएर लैजानका लागि बैठकमार्फत् जिल्ला कार्यसमिति गठन गरिएको अध्यक्ष खड्काले जानकारी दिएका छन् । रासस

कमेन्टहरु
Loading...