पोखरा । विराटनगरमा कोरोना भाइरस संक्रमणबाट २ जनाको ज्यान गएको छ । नोबेल मेडिकल कलेज विराटनगरमा उपचाररत २ जना कोरोना संक्रमितको ज्यान गएको छ । कोरोनाबाट ज्यान गुमाउनेमा मोरङको सुन्दरहरैचा नगरपालिका ४ तथा कानेपोखरी गाउँपालिकाका २ जना पुरुष रहेका छन् ।
सुन्दरहरैचा नगरपालिका ४ घर भएका ४५ वर्षीय पुरुषको आज बिहान ज्यान गएको हो । उनलाई ६ दिन अगाडि कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यता ५ वर्षदेखि ब्लड क्यान्सरको समस्याबाट ग्रसित कानेपोखरी गाउँपालिका ६ घर भएका ५० वर्षीय पुरुषको आज बिहान करिब ३ बजे ज्यान गएको हो । उनलाई ज्वरोको समस्या देखिए पछि उपचारका लागि सोमबार मात्र नोबेल अस्पताल लगिएको थियो । कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनको आइसोलेसन कक्षमा भेन्टिलेटरमा उपचार भइरहेको थियो ।
चितवनमा पनि कोरोना भाइरस संक्रमणबाट २ जनाको ज्यान गएको छ । भरतपुर अस्पताल तथा चितवन मेडिकल कलेजमा उपचारका क्रममा २ जनाको कोरोनाबाट ज्यान गएको हो । भरतपुर महानगरपालिका वडा नम्बर ३ की ७० वर्षीय महिलाको कोरोनाबाट ज्यान गएको छ । कोरोना भाइरस संक्रमण पुष्टि भए पछि उनी होम आइसोलेसनमा बसेकी थिइन् ।
तर होम आइसोलेसनमा रहँदा नै श्वासप्रश्वासमा समस्या, खोकी तथा ज्वरोको समस्या देखिएपछि उनलाई सोमबार बेलुका भरतपुर अस्पताल लगिएको थियो । उच्च रक्तचाप तथा मधुमेह जस्ता दीर्घ रोगबाट समेत ग्रसित उनलाई अस्पताल पु¥याए लगत्तै उनको ज्यान गएको हो ।
यस्तै चितवन मेडिकल कलेजमा पनि १ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर ५ घर भएका ७७ वर्षीय वृद्धको कोरोना भाइरस संक्रमणबाट आज बिहान ज्यान गएको हो । असोज १६ गते अस्पताल पु¥याइएका उनलाई १८ गते संक्रमण पुष्टि भएको थियो ।