विपन्नको चुल्हो बाल्दै लमजुङमा सञ्चालन गरिएको फुड बैंक

लमजुङ । लमजुङको बेसीसहर नगरपालीका–२ गैरी बजारमा रहेको प्रतिक्षालयमा टेबलमाथि चामल, दाल, तेल, नुनका पोका राखिएको छ । प्रतिक्षालयमा ‘हुनेले दिएर जानुहोस्, नहुनेले लिएर जानुहोस्’ लेखिएको यस्तो सूचना बिहीबारदेखि टाँसिएको छ । बन्दाबन्दीले दैनिकी ज्याला मजदुरी गरेर खानुपर्नेलाई एक छाक टार्न धौधौ छ । उनीहरूलाई थोरै भए पनि राहत होस् भनेर ‘फुड बैंक’ सुरू गरिएको ‘फुड बैंक’ का संयोजक अन्सुल लोहनीले बताए ।

सक्नेले आफूसंग भएका खाद्य सामग्री उपलब्ध गराउने र त्यही सामग्री नहुनेलाई निःशुल्क बाँड्ने उद्देश्यले यो अभियान सुरू गरिएको लोहनीको भनाई छ । धादिङ घर भई हाल लमजुङमा ज्यालामजदुरी गर्दै आएकी पेमा तामाङ भन्छिन्, ‘बन्दाबन्दीका कारण काम पनि ठप्प भइहाल्यो । काम नचलेपछि हातमुख जोर्न समस्या भयो । कति दिन त खानेकुरा नभएर सिस्नो धरी उमालेर छाक टारें । बिहीबारदेखि गैरीमा दाल चामल बाडेको छ अरे भन्नी खबर सुनेर आएँ ।’ तामाङले निःशुल्क दालचामल पाउँदा दंग परिन् । उनले भनिन्, ‘महिनौंदेखि चुलो नबलेका हामी जस्तालाई ठूलो राहत भयो हजुर । अब केही दिन भए पनि चामलको भात खान पाइने भइयो ।’

‘कोरोना महामारी र अहिले मजदुरी र ज्यालादारी गर्नेहरू रोगले भन्दा भोकले मर्नुपर्ने स्थिति छ । हाम्रो तर्फबाट समस्याको समाधान खोज्ने क्रममा फुड बैंक सुरू गरिएको हो ।’ लोहनीले भने । लोहनीका अनुसार यो अभियानमार्फत् सोमबारसम्म ६४ घरपरिवारलाई कोसेली वितरण गरिएको छ । उनका अनुसार फुड बैंकका लागि हालसम्म ३५ हजारभन्दा बढीको आर्थिक सहयोग जुटेको छ ।

बेसीसहर नगरपालिका २ का हाल जापानमा कार्यरत विवेक आलेमगरले फुड बैंकको सहयोग अभियान ऐक्यबद्धता जनाएका छन् । ‘सहयोग गर्न पाएकोमा खुसी छु ।’ सहयोगी हातहरू बढेको देखेर खुसी व्यक्त गर्दै लोहनी भन्छन्, ‘अब अझै यस अभियानलाई कसरी व्यवस्थित ढंगबाट अघि बढाउने भनेर छलफल गरिरहेका छौं ।’

फुड बैंकले ५ किलो चामल, १ प्याकेट नुन, आधा लिटर तेल, आधा किलो मसला १ प्याकेट साबुन ,बेसार, दाल, र स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गर्दै आइरहेको छ ।

अझै वडाको सहयोगमा यो अभियान चलाउन सके धेरैलाई राहत हुने फुड बैंकका सञ्चालक रविन परियारको भनाइ छ । ‘एकअर्कालाई सहयोग गर्नु नै मानवीय धर्म हो ।’ परियार भन्छन्, ‘रोग र भोकले कोही मर्न नपरोस् भनेर सक्दो कोसिस गर्दैछौं । सहयोगी हातहरू हुनुहुन्छ, हौसला पनि बढेको छ ।’

कमेन्टहरु
Loading...