पोखरा महानगरमा मेयर जिसीको असफल योजना नम्बर – २

ऋषिकान्त पौडेल

पोखरालाई स्मार्ट सिटी बनाउने घोषणा गर्दै महानगरपालिकाले विभिन्न योजना अघि सार्ने क्रममा सन्ध्याकालिन नगर बस सञ्चालन गर्ने योजना अघि सा¥यो । फलस्वरुप २ वर्ष अगाडि मेयर मानबहादुर जिसी र तत्कालिन प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले संयुक्त रुपमा सन्ध्याकालिन बस सेवाको उद्घाटन गरे । जनताले ओहो भन्ने गरी घोषित योजना उद्घाटन गर्ने, तर कार्यान्वयन फितलो गर्ने मेयर जिसीको प्रवृत्तिले सन्ध्याकालिन बस सेवामा पनि निरन्तरता पायो ।

तर मेयर जिसी भने सन्ध्याकालिन बस सेवाले निरन्तरता नपाउनुमा कोरोना कहर र बस व्यवसायी समितिलाई कारण मान्छन् । ‘यात्रु भएनन् भनि व्यवसायीको गुनासो आयो, चैत्रदेखि त कोरोनाले खाइदियो ।’ मेयर जिसीले भने । नगरभित्रका २५ किलोमिटर सडक मर्मतको काम सुरु गरिएको र त्यसपछि पुनः सन्ध्याकालिन बस सेवाको पहल गर्ने उनको जिकिर छ ।

२०७४ साउन महिनाबाट सुरु गरिएको उक्त बस सेवा मुस्किलले १ वर्षसम्म मात्रै टिक्यो । खासगरी पर्यटन व्यवसाय, विद्यार्थी, मजदुर एवं विभिन्न सेवामा सन्ध्याकालिन व्यवसाय लगायतका पेसामा आवद्ध नागरिकलाई लक्षित गरि सेवा सञ्चालनमा ल्याइएको थियो । अझै पोखरा बस व्यवसायी समितिले त झन् विभिन्न कामबाट फर्किएका तथा विभिन्न स्थानबाट पोखरा आउने यात्रु महंगो रकम तिरेर गन्तव्यमा पुग्नुपरेको र कतिपय ठगिने समेत गरेकाले सन्ध्याकालिन सेवा सञ्चालनमा ल्याएको उद्घोष गरेको थियो ।

पोखरा बस व्यवसायी समितिका अध्यक्ष देउप्रसाद गुरुङले महानगरको प्रस्ताव राम्रो भए पनि यात्रु नै नभएपछि कसरी सन्ध्याकालिन बस सेवा सञ्चालन गर्ने भन्दै प्रश्न गरे । ‘मान्छे भयो भने त केही थिएन । तर व्यक्तिले लगानी गरेको बसमा १ जनामात्रै यात्रु बोकेर को हिँड्न सक्छ ?’ गुरुङको स्पष्टोक्ति छ । सन्ध्याकालिन बस नै चलाउने हो भने भाडादर वृद्धि गर्नुपर्ने उनको तर्क छ । यद्यपी कोरोना कहर सकिएपछिको अवस्थालाई भने ख्याल गर्न सकिने उनले बताए ।

त्यो अवस्थामा सन्ध्याकालिन सेवाका लागि २ रुटमा बस सञ्चालन भएका थिए । पहिलो रुटमा हल्लनचोक, बाराहीचोक, राष्ट्रबैंक चोक, विरौटा एयरपोर्ट लखनचोक, भिमसेन चोक नदीपुर हुँदै बगरसम्म थियो ।

त्यस्तै दोश्रो रुटमा जिरो कि.मी, सृजनाचोक, सभागृहचोक, चिप्लेढुंगा, लखनचोक, गण्डकी हस्पिटल, माटेपानी हुँदै काउँखोलासम्मको रुटमा थियो । जसमध्ये एउटा रुटमा ४ वटा बसको दरले २ वटा रुटमा ८ वटा बस साँझ ७ बजेदेखि ९ बजेसम्म प्रत्येक आधा घण्टाको अन्तरमा सञ्चालन भए ।

योजना जनताको सुविधाका लागि केन्द्रित भए पनि आवश्यक अध्ययनको अभावमा भने पोखरा महानगर नेतृत्व चुकेको स्वंयम् महानगरपालिकाका कर्मचारी स्वीकार गर्छन् । नाम उल्लेख नगर्ने शर्तमा १ कर्मचारीले निर्वाचन जितेर आएका जनप्रतिनिधि हौं भन्दैमा निरन्तरता दिन नसकिने योजना अघि सार्नु नहुने तर्क गरे । ‘राजनीतिक प्रभाव देखाउन हो या किन हो, मेयरसाब सामान्यभन्दा सामान्य योजना उद्घाटन गर्दै हिड्नुभयो । अहिले योजनाले निरन्तरता नपाउँदा जग हास्ने काम भएकोे छ ।’

कमेन्टहरु
Loading...