विरोधकैबीच नेकपा प्रदेश संसदीय दलको बैठक बुटवलमा बस्दै

 

बुटवल । नेकपा संसदीय दलले बैठक डाकेपछि नेकपाका सांसदहरू सोमबार सबेरै संसदीय दलको कार्यालय पुगेका छन् । पार्टीले बिहान ६ बजे नै बुटवलस्थित प्रदेश नम्बर ५ संसदीय दलको कार्यालयमा बैठक डाकेको थियो ।

गत शुक्रबार प्रदेश सरकारको निर्णयपछि संसदमा प्रदेशको स्थायी राजधानी दाङ देउखुरी र नाम लुम्बिनी राख्न संसदमा प्रस्ताव दर्ता भएको छ । राजधानी बुटवलबाट दाङ सार्न नेकपाकै कतिपय सांसद मानेका छैनन्। विपक्षी नेपाली कांग्रेसले आन्दोलन गरिरहेको छ।

 

 

रूपन्देही, कपिलवस्तु, पाल्पालगायत जिल्लाका नेकपा सांसदले पनि राजधानी सार्ने विषयमा असन्तुष्टि जनाएका छन्। शनिबार पाँच घण्टा यसबारे उनीहरू छलफलमा जुटेका थिए। शनिबार केही निर्णय नभएपछि आज पुन नेकपा संसदीय दलले बैठक राखेको हो।

 

 

प्रदेशका मन्त्री तथा सांसदसँग छलफल नगरी राजधानी र नाम सिफारिस गरेकोमा मुख्यमन्त्री शंकर पोखरेलको विरोध भइरहेको छ। राजधानी र नाम सिफारिसका लागि गठित समितिले दिएका विकल्प लत्याएको मुख्यमन्त्रीमाथि आरोप छ।

 

सरकारले संसदमा दर्ता गरेको प्रस्तावमा पुनर्विचार गर्न कतिपय नेकपा सांसदहरू र स्थानीय तहहरूबाट नै माग भइरहेको छ। प्रदेश सभामा नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले सदस्यहरुका राय सुझावमाथि छलफल गर्न बाँकी रहेकोले बिहानै बैठक बोलाएको जानकारी दिए।

आन्दोलनमा रहेको नेपाली कांग्रेस र विभिन्न संघसंस्थाले प्रदेशसभा भवन घेराउ गर्ने बताएकोले नेकपाले बिहानै संसदीय दलको बैठक राखेको हो। प्रदेश राजधानीबारे आज दिउँसो प्रदेशसभा बैठकमा छलफल हुनेछ। छलफलपछि मतदान भएमा पारित गर्न दुईतिहाइ मत चाहिन्छ।

 

 

दाङमा राजधानी बनाउने विपक्षमा नेकपाका १४ सांसद छन्। नेकपाले दाङकै पक्षमा ह्वीप जारी गर्ने सम्भावना छ। नेकपा महासचिव विष्णु पौडेलले भने बुटवलमै राजधानी हुनुपर्ने माग राखेका छन्। तर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच दाङमै राजधानी राख्ने सहमति भएको थियो।

 

 

आइतबार बुटवलमा प्रदर्शन गरेका व्यवसायीले पार्टीको ह्वीप नमानेर जनताको पक्षमा आउन नेकपा सांसदलाई आग्रह गरेका थिए। आफूहरूको भावनाविपरीत राजधानी सार्ने निर्णय भए व्यापारी तथा विभिन्न संघसंस्थामा लागेकाहरू करिब दुई हजारले पार्टी छाड्ने चेतावनी दिएका छन्।

कमेन्टहरु
Loading...