कोरोना भाइरसबाट विश्वभर १० लाख ३८ हजारको मृत्यु

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या आइतबारसम्म १० लाख ३८ हजार पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट संक्रमित हुनेको संख्या विश्वभर ३ करोड ५१ लाख ४० हजारभन्दा बढी पुगेको छ । कुल संक्रमितमध्ये २ करोड ६१ लाख ३० हजार निको भएका छन् भने करिब ७९ लाख ६ हजारभन्दा बढी मानिस सक्रिय संक्रमित छन् ।

विश्वभर अझै पनि ६६ हजारभन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । पेसा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ संक्रमितको संख्या पनि ७६ लाख नाघिसकेको छ । कोरोना संक्रमणबाट अमेरिकामा हालसम्म २ लाख १४ हजारको मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई कोरोना भाइरस संक्रमण भएको छ ।

कोरोना संक्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात् विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या १ लाख नाघेको छ । आजसम्म प्राप्त समाचारअनुसार भारतमा ६५ लाख ४९ हजारभन्दा बढीलाई कोरोना संक्रमण भएको र यस संक्रमणबाट १ लाख १ हजार ९ सय ६० जनाको मृत्यु भइसकेको छ ।

कोरोना संक्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा ४९ लाख भन्दा बढी व्यक्ति सङ्क्रमित भएकामा १ लाख ४६ हजारको मृत्यु भएको छ ।

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख ४ हजार भन्दा बढी संक्रमित रहेका छन् भने २१ हजार २ सय ५१ जनाको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ ।

दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनामा कोरोना भाइरसको प्रकोप बढ्दो रुपमा रहेको केही दिन अगाडि एकै दिनमा २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ३ सय ५२ जनाको मृत्यु भएको थियो ।

युरोपेली मुलुक खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर सुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धको घोषणा गर्न थालिएको छ । रासस

कमेन्टहरु
Loading...