पोखरा । नेपालमा थप २ हजार १ सय २० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले थप २ हजार १ सय २० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८४ हजार ५ सय ७० पुगेको छ ।
हाल नेपालमा २१ हजार ३ सय २ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा १२ हजार ९ सय ७८ जनाको पिसिआर परीक्षण गरिएको थियो ।
डा गौतमका अनुसार यो अवधीमा नेपालमा २ हजार ४४ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या ६२ हजार ७ सय ४० पुगेको छ ।
हाल नेपालका मोरङ, सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन तथा रुपन्देही जिल्लामा ५ सयभन्दा बढी सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । त्यस्तै मनाङ, मुस्ताङ तथा डोल्पा जिल्ला हाल कोरोना भाइरस संक्रमित मुक्त जिल्लाहरु हुन् । अहिले मुलुकभरीका विभिन्न अस्पतालमा २ सय १७ जनाको आइसियु तथा ३१ जना कोरोना भाइरस संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ८ जनाले ज्यान गुमाएका छन् । जसमा २ महिला तथा ६ जना पुरुष रहेका छन् । सुनसरीकी २८ वर्षीय तथा चितवनकी ७६ वर्षीय महिलाको कोरोना भाइरस संक्रमणबाट पछिल्लो पटक ज्यान गएको छ ।
त्यस्तै ललितपुरका ६७, काठमाडौंका ६८ र ८३ वर्षीय, सिन्धुपाल्चोकका ४१ वर्षीय, दोलखाका ६५ वर्षीय तथा कैलालीका ७९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको छ । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ५ सय २८ पुगेको छ ।