नेपालमा अहिलेसम्म कै उच्च २७ सय २२ जनालाई कोरोना पुष्टि, थप ११ जनाको मृत्यु

पोखरा । नेपालमा थप २ हजार ७ सय २२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा थप २ हजार ७ सय २२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यो अहिलेसम्म कै उच्च दर हो । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८२ हजार ४ सय ५० पुगेको छ ।

हाल नेपालमा २१ हजार २ सय ३४ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा १४ हजार ७ सय ३९ जनाको पिसिआर परीक्षण गरिएको थियो । यस्तै नेपालमा पछिल्लो पटक ३ हजार ३ सय ७ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या ६० हजार ६ सय ९६ पुगेको छ ।

नेपालमा हाल २ सय १० जनाको आइसियु तथा २९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । नेपालमा मोरङ, सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन तथा रुपन्देहीमा ५ सयभन्दा बढी सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । त्यस्तै मनाङ, मुस्ताङ तथा डोल्पा कोरोनामुक्त जिल्ला हुन् ।

पछिल्लो २४ घण्टाको अवधीमा कोरोना भाइरस संक्रमणबाट नेपालमा थप ११ जनाले ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेमा ४ महिला तथा ७ जना पुरुष हुन् । कोरोना संक्रमणबाट भक्तपुरकी ५१ र ६१ वर्षीय, काठमाडौंकी ६७ वर्षीय तथा सुर्खेतकी ७५ वर्षीय महिलाले पछिल्लो २४ घण्टाको अवधीमा ज्यान गुमाएका छन् ।

त्यस्तै मोरङका २७ वर्षीय, ललितपुरका ३२ र ७० वर्षीय, मकवानपुरका ७८ वर्षीय पुरुषले ज्यान गुमाएका छन् । रुपन्देहीका ६० वर्षीय, बाँकेका ५२ र ५९ वर्षीय पुरुषले समेत कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ५ सय २० पुगेको छ ।

कमेन्टहरु
Loading...