लमजुङ । लमजुङमा बालविवाह बढेसँगै किशोरी अवस्थामै आमा हुनेको संख्या पनि बढ्दो छ । कानुनमा २० वर्षअघि विवाह गर्न पाइँदैन । तर, लमजुङ जिल्ला सामुदायिक अस्पतालमा प्रसुती गराउन आउनेमध्ये १५ दशमलव ५ प्रतिशत किशोरी २० वर्षमुनिकै रहेको पाइएको छ । २० वर्षभन्दा कम उमेरमा गर्भवती भएका किशोरीको विवाह भने १५ देखि १८ वर्षमा भएको पाइएको जिल्ला सामुदायिक अस्पतालको अनुमान छ । ‘सानै उमेरमा विवाह गर्नै हुँदैन ।’ अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले भने, ‘परिवक्व नभइ विहे गर्दा किशोरीको गर्भ तुहिने, रक्तश्राव हुने, बच्चा जन्माउन गाह्रो हुने र ज्यानै जानेसम्मको अवस्था आउन सक्छ ।’ अधिकांश किशोरीलाई शल्यक्रियामार्फत सुत्केरी बनाउनुपर्ने बाध्यता त्यसैका कारण भइरहेको उनको भनाइ छ । ‘उमेरै नपुगी बिहे गर्ने धेरैको पाठेघर खस्ने समस्या देखिएको छ ।’ उनले भने, ‘अन्य गम्भीर स्वास्थ्य समस्या पनि देखिन थालेका छन् ।’ कम उमेरमा सन्तान जन्माउँदा मातृ–शिशु मृत्युदरको उच्च जोखिम रहेको प्रमुख श्रेष्ठको भनाइ छ ।
अस्पतालमा प्रसुती सेवाका लागि आउने महिलाको तथ्यांकमा प्रसुती गराउनेमध्ये केही १४ वर्ष उमेरका किशोरी पनि भेटिने गरेको उनले बताए । आर्थिक वर्ष २०७६/७७ मा अस्पतालमा १ हजार १ सय २३ महिला आमा बनेका छन् । तीमध्ये १ सय ७१ किशोरी अर्थात् साढे १५ प्रतिशत किशोरी २० वर्ष नपुग्दै आमा बनेको अस्पतालको तथ्यांकले देखाएको छ । त्यस्तै आर्थिक वर्ष २०७५/७६ मा अस्पतालमा १ हजार ११ महिला आमा बनेका छन् । तीमध्ये १ सय ८३ जना अर्थात् १८ दशमलव १० प्रतिशत महिला २० वर्षमुनिका रहेको अस्पतालले जनाएको छ । यसैगरी आर्थिक वर्ष २०७४/०७५ मा १ हजार ३ सय २२ महिला आमा बनेका छन् । तीमध्ये ३ सय ६३ जना अर्थात् २७ दशमलव ४५ प्रतिशत महिला २० वर्षमुनिका रहेको अस्पतालको तथ्यांकमा उल्लेख छ ।
लमजुङ, मनाङ, तनहुँ र गोरखा क्षेत्रमा पायक पर्ने अधिकांश महिला लमजुङ जिल्ला सामुदायिक अस्पताललगायत स्वास्थ्य संस्थाबाट सेवा लिने गरेको अस्पतालले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय र लमजुङ जिल्ला सामुदायिक अस्पतालले मातृ शिशु सुरक्षा कार्यक्रम अन्तर्गत गाउँगाउँमा सचेतनामूलक कार्यक्रम गरी कम उमेरमा विवाह नगर्न सल्लाह दिए पनि अझै उमेर नपुगी विवाह गर्ने चलन नरोकिनु जनचेतनाको अभाव र आमा सुरक्षा कार्यक्रमका लागि चुनौतीको विषय बनेको छ ।
जिल्लाका विभिन्न गैरसरकारी संघसंस्था, विद्यालय, बाल क्लबलगायत बालविवाहविरुद्धको अभियानमा छन् ।
केही विद्यालयले बालविवाह गरेकालाई पढ्न नआउनु भनेका पनि छन् । सामाजिक मान्यता, गरिबी, बेरोजगारी, देखासिकी, सञ्चार माध्यमको दुरुपयोग आदिका कारण बालविवाह नघटेको बताइएको छ । ‘पहिले पहिले महिनावारी नहुँदै छोरीको विवाह गरिदिनुपर्छ भन्ने थियो, त्यो गलत संस्कार अझै कतिले छाडेका छैनन् ।’ प्रमुख श्रेष्ठले भने, ‘देखासिकी र घरपरिवारको दबाबले पनि सानै उमेरमा विवाह भइरहेको छ ।’ अभिभावकले बालबालिकालाई निगरानीमा नराख्दा पनि हुने आफूखुसी विवाहमा उमेर नपुगेकाहरू भेटिने गरेको उनको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालयले स्थानीय तहसँग समन्वय गरेर बालविवाह नियन्त्रण अभियान सञ्चालन गरिरहेको जनाएको छ । बालविवाह गर्ने र गराउनेलाई कारबाही गर्दै आए पनि रोक्न सजिलो नभएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घरायसी वातावरण, परम्परागत संस्कार र सञ्चार माध्यमको बढ्दो प्रयोगले कम उमेरमा विवाह गर्ने क्रम बढेको पाइन्छ । रासस