काठमाडौँ । स्वास्थ्य मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुन लकडाउन हुन सक्ने बताएको थियो । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा अशोज ७ गते मन्त्रालयका प्रवक्ता प्रा। डा। जोगेश्वर गौतमले सक्रिय संक्रमितको संख्या २५ हजार पुगे सरकारलाई फेरि लकडाउन गर्न सिफारिस गर्ने बताएका थिए।
डा। गौतमले सो भन्दै गर्दा देशमा सक्रिय संक्रमितको संख्या १८ हजार पुगेको थियो । बुधबार मात्रै देशभर १ हजार ५ सय ६९ जना संक्रमित थपिए । योसँगै सक्रिय संक्रमितको संख्या २० हजार ८ सय ९१ पुगेको छ। संक्रमितको संख्या अझै बढ्ने विज्ञहरु बताउँछन्। यता दैनिक डिस्चार्ज हुनेको भन्दा संक्रमित हुनेको संख्या धेरै रहेको छ । यद्यपि संक्रमितको संख्या कति पुग्यो भन्दा पनि सक्रिय संक्रमित कति छन् भन्ने कुरा महत्वपूर्ण रहने गौतम बताउछन् ।
यतिबेला देशैभर लक्षण नदेखिएका व्यक्तिहरु होम आइसोलेशन बस्न थालेका छन् । लक्षण भएकालाई मात्रै अस्पताल राख्ने गरिएको छ। त्यसैले मन्त्रालय सेवा अनि अस्पतालले धानेसम्म लकडाउन नगर्ने पक्षमा छ ।
यदि सक्रिय संक्रमित संख्या २५ हजार बढी पुगे स्वास्थ्य पूर्वाधारले धान्न गाह्रो हुने मन्त्रालयले जनाएको छ ।