सप्तरीमा थप १ जना कोरोना संक्रमितको मृत्यु

सप्तरी । सप्तरीमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी अग्नीसाइर कृष्णसवरण गाउँपालिका–४ का ३५ वर्षीय पुरुष रहेको छ । मिर्गौला रोगबाट पीडित उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज मृत्यु भएको हो ।

अक्सिजन कम भएपछि प्रतिष्ठानको कोभिड अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनको आज मृत्यु भएको उनका भाइ पिन्टुकुमार यादवले जानकारी दिएका छन् ।बालकैदेखि मधुमेहबाट पीडित उनको ८ दिन उपचार गरेपछि गोल्डेन अस्पताल विराटनगरले दुवै मिर्गौलाले काम गर्न छाडेको भन्दै घर फर्काएको थियो ।

गोल्डेन अस्पतालमा भदौ २७ गते गरिएको परीक्षणमा कोरोना संक्रमण नेगेटिभ आएको थियो । खर्चविहीन भएर अस्पतालबाट घर फर्किएका उनलाई अग्नीसाइर कृष्णसवरण गाउँपालिका–४ का वडाध्यक्ष तेजनारायण यादवले १५ हजार दिएर उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएका थिए । उपचारका क्रममा परीक्षण गर्दा यही असोज ८ गते उनमा कोरोना संक्रमण पुष्टि भएको वडाध्यक्ष यादवले जानकारी दिएका छन् । रासस

कमेन्टहरु
Loading...