पोखरा । नेपालमा थप १ हजार ५ सय १३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा थप १ हजार ५ सय १३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७६ हजार २ सय ५८ पुगेको छ ।
नेपालमा हाल २० हजार ३ सय ९६ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टाको अवधीमा १० हजार ८ सय ९१ जनाको पिसिआर परीक्षण गरिएको थियो ।
नेपालमा पछिल्लो पटक ७ सय ३१ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या ५५ हजार ३ सय ७१ पुगेको छ ।
नेपालमा हाल २ सय १३ जना आइसियु तथा ३४ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । मोरङ, सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन तथा रुपन्देही जिल्लामा ५ सयभन्दा बढी सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । त्यस्तै मनाङ, मुस्ताङ, डोल्पा, मुगु तथा हुम्ला कोरोनामुक्त जिल्ला हुन् ।
पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा थप १० जनाले ज्यान गुमाएका छन् । जसमा ३ महिला तथा ७ पुरुष रहेका छन् । पछिल्लो पटक सर्लाहीकी ७२ वर्षीय, काठमाडौंकी ५७ वर्षीय, बाँकेकी ७६ वर्षीय महिलाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ ।
त्यस्तै मोरङका ६८ वर्षीय, महोत्तरीका ५८ वर्षीय, काठमाडौंका ६० र ७० वर्षीय, चितवनका ५५ वर्षीय, बाँकेका ३९ र ५३ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको सख्ंया ४ सय ९१ पुगेको छ ।