पोखरा, २९ कात्तिक/इन्सेकका अध्यक्ष एवं स्वच्छ निर्वाचनका लागि नागरिक अभियान २०७० का संयोजक सुवोधराज प्याकुरेलले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनका सम्बन्धमा नागरिक स्तरबाट निष्पक्ष पर्यवेक्षण गर्नुपर्ने बताए । इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराद्वारा अयाोजना गरिएको नागरिक संवाद कार्यक्रममा बोल्दै अध्यक्ष प्याकुरेलले संविधान सभाको निर्वाचन निष्पक्ष र पारदर्शी बनाउन नागरिक समाजले प्रभावकारी भूमिका खेल्नु पर्ने र तटस्थ रुपमा नागरिक स्तरबाट पर्यवेक्षण गर्नुपर्नेमा जोड दिए । नागरिक स्तरबाट भएको निर्वाचन पर्यवेक्षणबाट नै निर्वाचन कस्तो रह्यो भन्ने कुरा छर्लङ्ग हुने उल्लेख गर्दै यसमा पर्यवेक्षकको भूमिका महत्वपूर्ण रहने बताए ।विगतदेखि नै विभिन्न राजनीतिक दलका उम्मेदवार अनेकन खालका अभियोगबाट मुक्त नभएको चर्चागर्दै अध्यक्ष प्याकुरेलले चेतनशील नागरिकको हैसियतले यस निर्वाचनमा उम्मेदवारहरुको सम्परीक्षण गरी आफ्नो मताधिकारको सही सदुपयोग गर्न आमनागरिकलाई आग्रह गरे । निर्वाचन प्रचार प्रसारका क्रममा दलहरुले ठाउँ–ठाउँमा आचारसंहिताको धज्जी उडाएको र निर्वाचन आायेग निरीह बनेर बसेको बताउदै नागरिकले स्थानीय स्तरबाट निरन्तर खवरदारी गर्नुपर्नेमा जोड दिए ।
उच्च स्तरीय राजनीतिक समितिले जे गर्दा पनि हुन्छ भन्ने दम्भलाई तोड्न स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गर्न जरुरी रहेको बताउँदै अध्यक्ष प्याकुरेलले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नुको विकल्प नै नरहेको बताए । उनले आगामी निर्वाचन नितान्त रुपमा प्रविधिउन्मुख हुनुपर्ने आवश्यकता औल्याए । कार्यक्रममा अभियानका अभियन्ता एव्म पत्रकार कनकमणि दीक्षितले २०६४ को संविधानसभाको निर्वाचन स्वच्छ र निष्पक्ष नभएको कारणले नै संविधान बन्न नसकेको उल्लेख गर्दै मंसिर ४ गतेको निर्वाचनलाई निष्पक्ष बनाउ सबैले पहल गर्नु पर्नेमा जोड दिए ।