नेलम्बोद्वारा मराउँचे गोलडाँडा टोल विकास संस्थालाई सहयोग

हेम्जा । पोखरा ४ स्थित नेलम्बो नेपालले अन्नपूर्ण गाउँपालिका ३ स्थित मराउँचे गोलडाँडा काँडेबराह थान टोल विकास संस्थालाई स्वास्थ्य सुरक्षा सामग्री तथा डस्टविन वितरण गरेको छ । संस्थाले ४१ औं सामाजिक सेवा दिवसको अवसर पारी सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन सोमबार उक्त सामग्री प्रदान गरेको हो । जसअनुसार ७ वटा डस्टविन, डिटोल साबुन, एन ९५ माक्र्स र ब्रोसर हस्तान्तरण गरिएको छ । कार्यक्रम स्थानीय प्रगतिशील युवा क्लबको व्यवस्थापनमा भएको थियो ।

कार्यक्रममा भनाई राख्दै नेलम्बो नेपालका कार्यक्रम संयोजक डा.किसन कोइरालाले सामाजिक सेवा दिवसको अवसर पारी सहयोग गरेको स्पष्ट पार्दै सहयोगले कोभिड १९ संक्रमण नियन्त्रण तथा वातावरण संरक्षणमा भूमिका खेल्ने विश्वास लिए । उनले संस्थाको बारेमा जानकारी पनि दिर्दै आगामी दिनमा टोल तथा क्लबसग आफूहरु हातेमालो गर्न तयार रहेको स्पष्ट पनि पारे ।

नेलम्बो नेपालका जनसम्पर्क सुपरिवेक्षक भीमप्रसाद भण्डारीले संस्थाले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा कार्य गर्दै आएको अवगत गराउँदै दुर्गम बस्तीमा सहयोग गर्नु संस्थाको धर्म भएको औंल्याए ।

त्यस अवसरमा उनले सहयोगको विवरणबारे जानकारी पनि दिएका थिए । स्थानीय प्रगतिशील युवा क्लबका पुर्व अध्यक्ष सुरज पौडेलले सेवा नै धर्म भएको चर्चा गर्दै संस्थाले वास्तविक सहयोग गर्नुपर्ने स्थान छनोट गरी कार्यक्रम गरेको भन्दै खुसी व्यक्त गरे । कतिपय गैरसरकारी संस्थाले डलरको खेती गर्ने गरेको तर्फ संकेत गर्दै पौडेलले नेलम्बोमा भने आफूले त्यस्तो नपाएको उल्लेख गरे ।

कार्यक्रमका बीच टोल विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद अधिकारी, प्रगतिशील युवा क्लवका सचिव कमलराज पौडेल, स्थानीय नवज्योति आमा समूहकी अध्यक्ष रेवती अधिकारी, स्वास्थ्य स्वयंसेविका पार्वती पौडेल लगायतले पनि धारणा राखेका थिए ।

टोल विकास संस्थाका अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रगतिशील युवा क्लबका पुर्व अध्यक्ष सुरज पौडेलले स्वागत तथा क्लब अध्यक्ष दिलीप पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...