रुपा ६ जमनकुना पहिरोको उच्च जोखिममा, खुदीको पुल बगाउँदा यातायात सेवा अवरुद्ध

पोखरा । गएराति देखि परेको अविरल वर्षाका कारण कास्कीको रुपा गाउँपालिका–६ स्थित जमनकुना गाउँ पहिरोको उच्च जोखिममा रहेको छ ।

रुपाकोट–थुम्चे सडक तलबाट ५/६ सय मिटरको पहिरो जाँदा गाउँको ३५ घरधुरी जोखिममा परेको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताए । पहिरोमा मानवीय क्षति नभए पनि धनको ठुलो क्षति भएको ओझाले बताए ।

जमनकुना खोलामा पहिरो मिसिएर गाउँ पसेपछि शुक्रबार राति १० बजे २ घर पुरिएको थियो । राति पहिरो खसेको थाहा पाए लगत्तै तत्कालै उद्दारमा खटिएकाले मानवीय क्षति हुन नपाएको ओझा जानकारी दिएका छन् । ‘घरको ४ जना सदस्यलाई पहिरो गएको थाहा पाउन साथ ढोका फोरेर निकाल्यौं ।

अहिले उहाँहरुको पुनः स्थापनाको कार्य हुँदै छ ।’ उनले भने ।

यता वर्षाकै कारण पोखरा महानगरपालिका र रुपा गाउँपालिका जोड्ने खुदीको पुल शनिबार बिहान ८ बजे आएको बाढीले बगाएको छ । खुदी खोलाको बाढीले सुकुम्वासी बस्तीको २ वटा घर समेत बगाएको ओझाले जानकारी दिएका छन् । उनका अनुसार खोलाले पुल बगाउँदा यातायात अवरुद्ध बनेको छ ।

कमेन्टहरु
Loading...